पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान

चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको चार्टर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।  

चीनसँग सीमा जोडिएको संखुवासभा हुँदै नेपाल प्रवेश गरेको जहाज आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो । 

१ सय ३० जना आउने भनिएको विमानमा कतिजना आएका छन् खुलेको छैन । चीन भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नेपालका सांसद, चिनियाँ पर्यटक र खेलाडी उक्त विमानमा पोखरा आएका छन् ।

अध्यक्ष तिमिल्सिना, सात सांसदसहित ९ जना गत २७ जेठमा काठमाडौंबाट चीन भ्रमणमा गएका थिए । उनीहरू त्यही विमानमा पोखरा आएका हुन् । विमान पोखरामा एक घण्टा होल्ड हुनेछ ।

त्यसपछि त्रिभुवन विमानस्थलमा अवतरण भई नियमित उडानमार्फत् चीनको छेन्दु फर्किने छ । गत १७ पुसमा सञ्चालनमा आएको विमानस्थलमा चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको हो ।   

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले उद्घाटन गरेका थिए । विमानस्थल  २२ अर्ब लगानीमा निर्माण भएको हो । 



विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो । चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते  सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३) मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) लेसमेत सहयोग गरेका छन् ।



बोट रेस कार्यक्रमका सम्बन्धमा गत २१ वैशाखमा पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । 

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए । 

कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा छन् । चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताए । 

प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । २ सय र ५ सय मिटरमा दुई भागमा आठ बोटमार्फट रेस हुनेछ । विजेताले ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।  

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।  

  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ९:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया