अधुरै रह्यो सुशासन कायम गर्ने कानुनमन्त्री सिंहको सपना

बझाङ १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंह गत ६ जेठमा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भए । उनी बझाङबाट प्रदेश मन्त्री बन्ने पहिलो व्यक्ति थिए । 

पदभार ग्रहणलगत्तै सिंहले आफ्नो मुख्य सपना प्रदेशमा विधिको शासन र सुशासन कायम गर्नु रहेको प्रतिक्रिया दिएका थिए । तर, मंगलबार भएको सडक दुर्घटनाका कारण उनले आफ्नो सपना पूरा गर्न पाएनन् । उनी एक्लै अस्ताएनन् सँगै श्रीमती अमृता र भाउजू जयादेवी सिंह पनि परलोक भए ।

मन्त्री सिंहको निधनपछि अहिले बझाङसहित पूरा सुदूरपश्चिम शोकमा छ । उनी मंगलबार बझाङको मष्टा गाउँपालिकाको धरान मष्टामाडौंमा पूजाका लागि परिवारसहित त्यसतर्फ जाँदै थिए । मन्त्री सिंह सोमबार नै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

मंगलबार गन्तव्यमा पुग्ने योजना बनाएका उनी सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको देउरा बजार नजिकै दुर्घनाग्रस्त भयो ।

 ‘धरान मष्टामाडौंमा पारिवारिक पूजाको कार्यक्रम थियो, त्यसकै लागि आउँदा गाडी दुर्घटना भयो,’ बझाङ कांग्रेस सचिव उत्तम रोकायाले भने, ‘यो दुःखद् घटनाले सिंगो सुदूरपश्चिम शोकमग्न छ ।’ 



सिंह बझाङका पुराना कांग्रेसी नेता हुन् । दुईपटकसम्म कांग्रेस बझाङ जिल्ला कार्यसमिति सभापति भएका उनी कांग्रेसवृत्तमा कुशल संगठनकर्ता थिए । पार्टीभित्र र बाहिर लोकप्रिय नेताको पहिचान बनाएका मन्त्री सिंह पार्टीको काममा हरदम खटिन सक्ने क्षमता भएका नेताको छवि बनाएका थिए ।

पञ्चायतकालमै कांग्रेसको राजनीतिमा सक्रिय सिंह २०७४ मा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी थोरै मतान्तरले पराजित भए । गत ४ मंसिरको प्रदेश निर्वाचनमा भने सिंह विजयी भए ।



उनी विगतमा बझाङका चर्चित कानुन व्यवसायी पनि थिए । जिल्लाका सर्वसाधारण र कांग्रेसनिकट व्यक्तिका लागि निःशुल्क बहस गर्न तयार हुने कानुन व्यवसायीको पहिचान सिंहले बनाएका थिए । आर्थिक समस्या भएका व्यक्तिका लागि अदालतमा गरिने बहसको उनले कुनै शुल्क लिँदैनथे । 

साबिक लुयाटा गाविस तथा हालको जयपृथ्वी नगरपालिका–५ घर भएका मन्त्री सिंह द्वन्द्वकालमा पनि जिल्लामा नै बस्थे । द्वन्द्वको समयमा माओवादी पक्षले एक महिना सिंहलाई आफ्नो कब्जामा समेत राख्यो ।  

पार्टीभित्र तटस्थ बस्न सक्ने, विपक्षी पार्टीबाट पनि आलोचित नहुने क्षमता मन्त्री सिंहमा रहेको बझाङ कांग्रेसका नेताहरू बताउँछन् । मृतक सिंहका दुई छोरा रहेका छन् ।     


  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १२:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया