मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि धनगढीमा, अन्त्येष्टिका लागि बझाङ लगिने

सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको श्रद्धाञ्जलीका लागि प्रदेश सरकारले उनको पार्थिव शरीरलाई धनगढी रङ्गशालामा राखिएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख, सभामुख मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूले धनगढी रङ्गशालामा पुगेर श्रद्धाञ्जली दिएका छन् । 

मंगलबार गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंहको गाडी दुर्घटनामा परेर निधन भएको हो । दुर्घटना लगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

उनको शव मंगलबार राति नै धनगढी ल्याइएको हो । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ । प्रदेश सरकारले आज बुधबार प्रदेशभर शोक बिदा दिएको छ । मंगलबार राति ९ बजे प्रदेशको आकस्मिक रूपमा बसेको मन्त्रीपरिषद् बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । सँगै दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । 

उनीहरूको शव मंगलबार साँझ सदरमुकाम चैनपुर पुर्‍याएर जिल्ला अस्पतालमा राखिएको छ । मन्त्री सिंहसहित उनको परिवार चैनपुरस्थित घरको प्रतिष्ठा पूजा र ढडार मष्टाको पूजा गर्न सोमबार धनगढीबाट हिँडेका थिए । दिवङ्गत सिंह दम्पतीका दुई छोराबुहारी र दुई नातिनातिना छन् । 






  • प्रकाशित मिति : असार ६, २०८० बुधबार १२:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया