मौसमविद् भन्छन्- यसपालि मनसुनमा पनि तातो हावाको लहर फैलिनसक्छ

यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । 

प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्यूनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ । 

यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्नसक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उनले बताए ।

यस्तै, मनसुनका समयमा पानीजन्य र जीवाणुबाट सङ्क्रमण हुने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यो समयमा पनि दोहोरिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ । विगतमा झाडापखाला, हैजा, कमलपित्त, श्वासप्रश्वाससम्बन्धी रोग, कालाजार, डेङ्गु, इन्फ्लुएञ्जा, फ्लुलगायतका रोग देखिएका थिए । 

मनसुनका सममया हैजा, कालाजार, झाडापखाला तथा सर्पदंशका कारण बर्सेनि करिब पाँच सयको ज्यान जाने गरेको छ । दूषित पानीको प्रयोगले रोग फैलनसक्ने जनाइएको छ । सय वर्ष पनि विभिन्न पानीजन्य रोग देखिन सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ । 

बाढी, पहिरो, डुबानजस्ता प्रमुख विपद्का घटनासँगै मनसुनका समयमा फैलनसक्ने डेङ्गु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । मनसुनको सुरुआतमै नेपालको पूर्वी क्षेत्रका जिल्लमा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको छ । रासस 





  • प्रकाशित मिति : असार १०, २०८० आइतबार १४:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया