सूर्य थापाको माग : निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रूपमा नगरियोस्

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रूपमा रूपान्तरण नगर्न चेतावनी दिएका छन् ।  

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले जिल्ला निर्वाचन कार्यालय र तथ्याङ्क कार्यालयलाई खारेज गर्ने निर्णय लोकतन्त्र विरोधी रहेको बताए । थापाले लोकतन्त्रमा निर्वाचनको निष्पक्षता हुने भन्दै संविधान बमोजिम व्यवस्था भएको आयोगलाई खारेज गर्नु नहुने बताए ।     

‘अर्थमन्त्रीजीको धेरै ध्यानाकर्षण गरायौँ । यहाँसम्म आइपुग्दा धेरै पटक भन्यौँ । तर यो सुनुवाइ भएन । त्यसो भएको हुनाले आज हाम्रो दलको तर्फबाट जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने जुन निर्णय भएको छ, यो गलत छ । यो लोकतन्त्र विरोधी छ,’ थापाले भने, ‘लोकतन्त्रमा निष्पक्षताको सुनिश्चितता र प्रत्याभूतिको मूल मर्मविपरीत छ । यस कुरालाई नसच्याएसम्म, लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको जुन महत्व हुन्छ, यो कुरालाई आत्मसात् नगरेसम्म अरू कुरा गर्नु भनेको बेकारको कुरा हुन्छ ।’ 

उनले निर्वाचनलाई निष्पक्ष बनाउने प्रत्याभूतिसहित निर्वाचन आयोगले काम गर्न पाउनुपर्ने बताए ।  

‘बेकारको कुरामा सदनले लगाम लगाउनुपर्छ र निर्वाचनलाई निष्पक्ष गराउने कुराको प्रत्याभूति हामीले छुट्टै निर्वाचन आयोगको व्यवस्था संविधान बमोजिम गरेका छौँ । त्यसअन्तर्गत नै देशभरी निर्वाचनसँग सम्बन्धित कामहरूलाई छुट्टै कार्यालय स्वतन्त्ररूपमा गर्नेगरी निर्वाचन आयोगको, निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रूपमा रूपान्तरण गर्ने काम नगरियोस् भन्नका निम्ति यो कुरा जोडदाररूपमा, यो विषयमा सभामुखज्यूको रुलिङ चाहिन्छ । अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ । खारेज गर्नुपर्छ । तब मात्र सदनको काम अगाडि बढ्छ,’ सांसद थापाले भने । 

 





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १२:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया