logo-img

कैलाली कारागार : लागुऔषधको अखडा, शक्ति हत्याउन कैदीबीच सधैँ झगडा

कारागार भन्नेबित्तिकै आममानिसको दिमागमा आउँछ, विभिन्न आपराधिक क्रियाकलापमा सजाय पाएका व्यक्तिहरू थुन्ने ठाउँ । तर, त्यही कारागारभित्र पनि आपराधिक मानसिकता बोकेका व्यक्तिबीच नेतृत्व लिनेदेखि जिम्मेवारी बाँडफाँडसम्म हुने गर्दछ भन्ने सुन्दा जोकोहीलाई पत्याउन गाह्रो हुन्छ । 

नेतृत्व लिनका लागि हानथाप मात्रै होइन, जिल्ला कारागार कैलालीमा कारागारभित्र नै अपराध हुने गरेको छ । कारागारभित्र लागुऔषधको प्रयोग र कारोबार नै हुने गरेको छ । कारागारमा पटक–पटक झै–झगडा भएका समाचार बेलाबखत बाहिर आएका हुन्छन् । 

हरेक वर्ष साउनमा कारगारभित्र रहेका कैदीहरुबीच नेतृत्व चयन हुने गरेको छ । कारागारभित्र नेतृत्व हत्याउन कैदी बन्दीबीच ठूलै हानथाप हुने गरेको छ । कारागार भित्र कैदीबन्दीहरूको आन्तरिक व्यवस्थापन गर्न चौकीदार, मूल नाइके, शिक्षक नाइके, आउट डोरलगायतको जिम्मेवारी बाँडफाँड हुने गर्छ । 

स्वयं कारागार प्रशासनले नै कारागारलाई अवैध धन्दाको अखडा बनाउन काम गरेको छ । कारागारभित्र खानेपानीको बोतल, कोक तथा अन्य चिसो पेय पदार्थको बोतलमा रक्सी भरेर छिराउने गिरोह सक्रिय रहने गरेको छ ।

कारगारभित्र घरबाट पकाएर लगेको खसीको मासुको हड्डीभित्र ब्राउन सुगर लैजाने, मोबाइल भित्र्याउने, जुवातास खेलाउने र बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चौकीदारहरूलाई बाहिर घुमफेर गर्न दिनेजस्ता कार्य हुने गरेका छन् । 

कारागारको क्यान्टिन, मासु पसल, किराना पसल, सुर्ती पसल, फ्रिज सेवा र मेस चलाउने जिम्मेवारी पनि एक वर्षका लागि साउनमै प्रदान गरिन्छ । यी सबै जिम्मेवारी हत्याएर एक वर्षसम्म बन्दीहरूमाथि शासन चलाउन कैदीबन्दीका फरक–फरक समूहबीच शक्ति संघर्ष हुने गरेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले बताए । 



तिमिल्सिना कैलाली जिल्ला कारागारमा गत वैशाख १० गते मात्रै कार्यालयमा हाजिर भएका हुन् । त्योभन्दा अगाडि नायव सुब्बा लालाबहादुर बोगटी निमित्त जेलर थिए । बोगटीलाई ०७९ फागुन १ गते निमित्त जेलरको जिम्मेवारी दिइएको हो ।

डोटी कारागारबाट बोगटी कैलाली कारागार सरुवा भएका हुन् । बोगटीभन्दा अगाडि पनि नायव सुब्बा नरबहादुर थापालाई कारागार प्रमुखको जिम्मेवारी दिइएको थियो । थापा ०७८ भदौदेखि ०७९ माघसम्म निमित्त प्रमुख भएका थिए । अधिकृतको दरबन्दी रहेको कैलाली कारागारामा नासुलाई लामो समयसम्म जेलरको जिम्मेवारी दिएको पाइएको छ ।



कैदीबन्दीसँग कारागार प्रशासन र प्रहरीले अस्वाभाविक सम्बन्ध विस्तार गरेका कारण कैलाली कारागारभित्र लागुऔषध र रक्सी सेवनदेखि जुवातास खेलाउने तथा अवैध असुलीका गतिविधि बढेको बताइएको छ । 

वैशाख १० गते कारागार प्रमुखमा आफू आएपछि यी सबै कुरामा कडाइ गरेको तिमिल्सिनाको दाबी छ । जसका कारण अवैध कारोबारबाट फाइदा लिइरहेको समूहले कारागारभित्र अशान्ति फैलाउने चेष्टा गरेको उनको भनाइ छ । 

‘यहाँ जति पनि अवैध भनिएका गतिविधि हुने गरेका थिए, ती सबैको च्यानल भत्काउने काम गरेको छु,’ उनले भने, ‘जसका कारण अवैध धन्दाबाट लाभ पाउने च्यानल टुटेपछि भित्रका कैदीबन्दी र बाहिरका तीनका मान्छेले कारागारभित्र अशान्तिको वातावरण निर्माण गर्ने प्रयास गरेका छन् ।’

कैलाली कारागारमा हुने गरेको अवैध कामलाई निरन्तरता दिन र साउनमा कारागारभित्र नेतृत्वमा आउन कैदीबन्दीहरूका बिच चैतदेखि यता पटकपटक झडपका घटना भएका छन् । 

सुदूरपश्चिमका पहाडी जिल्लाका कारागारबाट कैलाली कारागार सरुवा भएर आउने बन्दीको संख्या उच्च रहेको छ । कारागार प्रशासनकै कर्मचारी विशेषगरी निमित्त जेलरहरूले विगतदेखि नै भनसुन र राजनीतिक पहुँचको आधारमा पहाडबाट कैलाली जेल सरुवा हुन सहजीकरण गर्छन् । 

पहाडी जिल्लाका जेलबाट बिरामी भएको र उपचार गराउने भन्दै जेल सार्ने खेल हुने गरेको छ । सबैभन्दा बढी डोटी जिल्ला कारागारबाट जेल सरुवा भएर कैदीबन्दी कैलाली कारागार ल्याइने गरिएको छ । यसरी जिल्ला विशेष र क्षेत्र विशेषका बन्दीको संख्या वृद्धि गरेर तिनीहरूकै बलमा कारागार प्रशासन र कैदीबन्दीहरूले मनपरी गर्ने गरेका छन् ।

कारागार भित्रका कैदीबन्दीहरूले समूह निर्माण गरेर शक्तिका लागि संघर्ष गर्ने गरेको जेलर तिमिल्सिनाले भनाइ रहेको छ । समान किसिमको अपराध र अभियोग लागेकाहरूले फरक–फरक समूह निर्माण गर्ने गरेका छन् । समूह बनाउँदा एकै क्षेत्र र भूगोलका बन्दीहरूको गठबन्धन बन्ने गर्छ । ती समूहले शक्तिमा आएर एक वर्षसम्म बन्दीहरूमाथि शासन गर्न कारागारभित्र कुटपिट हुने गरेको छ ।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा पक्राउ परेका १६ जनाको समूह कैलाली कारागारमा थियो । आगामी वर्ष शक्ति हत्याउन अहिले शक्तिमा रहेको अर्को समूहसँग उसको पटक–पटक झगडा र कुटपिट हुने गरेको छ । 

यस्तै, लामो समयसम्म केलाली कारागारमा कार्यालय सहयोगी रहेका धनगढी बलिराम चौधरीलाई सेवाबाट हटाउँदा र कारागारभित्र अनुशासन र नियमको पालन गर्न कडाइ गरिँदा बन्दीहरूबीच झैझगडा गर्न लगाएर अशान्तिको वातावरण तयार गर्न खोजिएको जेलर तिमिल्सिनाको दाबी छ ।

कारागार प्रशासनले जेठ २३ गते कैदीबन्दीबाट २० थान स्मार्ट मोबाइल फेला पारेको थियो । योभन्दा अगाडि आउटडोर कैदीबन्दीसँग १३ थान स्मार्ट फोन बरामद गरिएको थियो । असार ८ गते गरिएको सर्च अप्रेसनमा थप १५ थान मोबाइल र २० थान चार्जर फेला पारिएको थियो । 

केही महिनाअगाडि कैदीबन्दीहरूले लागुऔषध प्रयोग गरिरहेको भिडियो सार्वजनिक भएको थियो भने चैतयता पटकपटक कैदीबन्दीबीच झगडा भएका समाचार आइरहेका छन् । 

कैलाली कारागारमा एक खल्ली चुरोट २५ रुपैयाँमा बिक्री हुने गरेको थियो । यस्तै, मदिरा र लागुऔषधको प्रयोग र कारोबार गर्न कैदीबन्दीलाई सहज वातावरण निर्माण गरिएको थियो ।

कारागारभित्रै झैझगा र विभिन्न अवैध गतिविधि हुने  गरेको सामाचार बाहिर आएपछि जेठ २९ गते १६ जना कैदीबन्दीलाई अन्य जेलमा सारिएको छ । यस्तै, कारागार सुरक्षामा खटिएकामा इन्चार्ज, सह–इन्चार्जलगायत १० जनाको सरुवा गरिएको छ । 

जेठ २९ गते कैदीबन्दीतर्फ तोयनाथ भट्ट र पूर्णबहादुर सिंहलाई चितवन कारागार सरुवा गरिएको छ । गगन ठकुल्ला, दिपेश गुप्ता र हिक्मतबहादुर सिंहलाई पर्सा सरुवा गरिएको छ । यस्तै, अनिल सिंहलाई सिराहा कारागार, दिनेश बोहरा र तपेन्द्र बोगटीलाई मोहत्तरी, उदय थापा र मनिष जैसवाललाई सप्तरी, सन्तोष कुमार शाही र सुवास चन्द्रलाई कपिलवस्तु, गणेशदत्त भट्ट र निराजन भनिने खगेन्द्र शाहलाई सुनसरी तथा खगेन्द्र बम र पुष्प साउँदलाई नवलपरासी कारागार सरुवा गरिएको छ ।

क्षमताभन्दा चार गुणा बढी कैदी

कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी/बन्दी राखिएका छन् । सन् १९९७ राणाशासनमा बनेको कैलाली कारागारमा १५० कैदीबन्दी राख्ने क्षमता छ । तर, कैलाली कारागारमा ६५३ कैदीबन्दी छन् । यो संख्या क्षमताभन्दा चार गुणा बढी हो ।

कारागारभित्र तीन ब्लक छन् । एक ब्लकमा ए ब्लक ३७६, बी ब्लक २३० र महिला ब्लकमा ४२ महिला र तीनजना आश्रित बालबालिका राखिएका छन् । जबकि कैलाली कारागारमा महिला बन्दी राख्ने सरकारी नीति र व्यवस्था छैन । कारागार व्यवस्था विभाग स्थापनाका क्रममा ०५० सालमा निर्धारण गरिएको क्षमता, संरचना र नीतिमा ३० वर्षसम्म फेरबदल नहुँदा कैदीबन्दीहरुले कैलाली कारागारमा कष्टकर जीवन बिताउनुपरेको छ ।

कैदीहरु पालैपालो पनि सुत्न पाउँदैनन । कारागारभित्र एककैदीलाई मुस्किलले दुई फिट जमिन उपलब्ध छ । कैदीहरुलाई खाना खानसमेत समस्या छ । शौचालयका लागि घण्टौँ पर्खिनुपर्ने समस्या यथावत् छ ।

कारागार प्रमुख तिमिल्सिनाले क्षमताभन्दा चार गुणा बढी कैदी बन्दीहरु रहेकोले उनीहरु पालैपालो पनि सुत्न पाउने अवस्था नरहेको बताए । ‘कैदीहरु पूरै निद्रा त कोही सुत्न पाउँदैनन्,’ तिमिल्सिनाले भने, ‘कोही दिउँसो कोही राति गरेर सुत्छन् ।’ 

कोही पनि राम्रोसँग सुत्न नपाउने र अझ वर्षायाममा त कैदीबन्दीहरुको बिजोग हुने गरेको उनले सुनाए । ‘कारागारभित्र त्रिपाल र प्लाष्टिकको बर्सातीले अस्थायी छाना र टहरा निर्माण गरिएका छन्,’ उनले भने, ‘ती पनि च्यातिएका छन् । तिनले न घाम छेक्छ, न पानी । कैदीबन्दीहरु वर्षा भए पानीले भिज्ने, चर्को गर्मीमा पसिनाले भिज्ने अवस्था छ ।’

  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार २२:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया