वीरबाट वीरेन्द्रको याचना, तर सिंहदरबार सुन्दैन
तस्करबाट प्रहरीलाई जोगाउँदा घाइते वीरेन्द्रप्रति सरकार गैरजिम्मेवार

आकाशबाट पानी खस्न थालिसकेको थियो । वर्षायाम सुरु भएसँगै काठमाडौं उपत्यकामा झरी दर्किरहेको थियो । हो, मंगलबार दिउँसो १२ बजेको कुरा यो । सोही दिन ११औँ दिनदेखि माइतीघर मण्डलामा अनसनरत रहेका कैलालीका लक्का जवान २६ वर्षीय वीरेन्द्र जैशीलाई सोमबार रातिदेखि स्वास्थ्यमा समस्या देखियो । 

नभन्दै वीरेन्द्रलाई मंगलबार बिहान ज्वरोले झन् च्यापेपछि उनलाई प्रहरी भ्यानमा राखेर वीर अस्पतालको आपत्कालीन कक्षमा भर्ना गरियो । नम्बर ६ को बेडमा आराम गर्दै थिए, वीरेन्द्र । मलिन अनुहारको भारी बोकेर छेउमै थिइन्, उनकी पत्नी जानकी देवकोटा (जैशी) । वीरेन्द्र भने बेलाबखत कोल्टे फेर्दै आराम गर्ने कोसिस गरिरहेका थिए ।  

‘असार १ गतेदेखि अनसन बस्नु भएको उहाँलाई हिजो (सोमबार) रातीदेखि एक्कासि ज्वरो आयो । राती ज्वरो कम थियो, ठीक भइहाल्छ भन्ने सोचेकी थिएँ । तर, समय बित्दै जाँदा झन् गाह्रो भयो । र, बिहान  यहाँ (वीर)मा लिएर आयौँ,’ जानकीले जानकारी दिइन् ।

पत्नीको कुरा वीरेन्द्रको कानमा पुगिरहेको थियो । ११ दिनदेखि खाना नखाएका, पानीसमेत नपिएका वीरेन्द्र कमजोरीका कारण थलिएर अस्पतालको बेडमा भर्ना भएका थिए ।

वीरेन्द्र घरिघरि पत्नी जानकीलाई टाउको दुखेकाले मालिस गरिदिन आग्रह गर्दै निदाउने प्रयास गरिरहेका थिए । स्नातक अध्ययन गरिरहेकी जानकी पनि आफ्नो पढाई हापेर श्रीमानको साथमा छिन् । प्रेम र दायित्वको धागोले यो जैशी जोडीलाई बाँधेको छ ।



वीरेन्द्र किन छन् वीरको बेडमा ? 

अस्पताल भर्ना भएको एक विरामीको कुरा मात्र होइन, यो । आखिर वीरेन्द्र किन अनसन बसे ? कैलालीमा पनि दैलोमै सरकार छ । यति हुँदाहुँदै केन्द्रीय सत्ता सिंहदरबारलाई नै गुहार्न उनी किन काठमाडौं आउनुपर्‍यो ? फरकधारको यो रिपोर्टिङ त्यही जिज्ञासाको जवाफ हो । 



वीरेन्द्रको विरह बुझ्न, सात वर्ष पछाडि फर्कनुपर्ने हुन्छ । कैलालीको जानकी गाउँपालिका–८ मा रहेको जंगलमा गोली चल्यो । उक्त गोली प्रहरी र काठ तस्करबीच भएको भिडन्तको क्रममा चलेको थियो । १ फागुन ०७३ को घटना थियो यो । कैलालीमा बेलाबखत भइरहने काठ तस्करलाई नियन्त्रणमा लिन प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यो दिन पनि काठ तस्करी भइरहेको सूचना प्राप्त भएपछि दुई प्रहरी तुरुन्तै जंगल पुगे । तस्करलाई नियन्त्रणमा लिने योजनासहित जंगल पुगेको प्रहरी र काठ तस्करबीच भिडन्त भयो । 

जंगल नजिकै वीरेन्द्रको घर थियो । प्रहरी र काठ तस्करबीच भिडन्त भइरहँदा एकजना प्रहरी भिडबाट जसोतसो ज्यान जोगाएर दौडेर वीरेन्द्रको घरसम्म आइपुगे । प्रहरीले वीरेन्द्रलाई सहयोग माग्यो । 

‘प्रहरी गणेश सेट्टीले मसँग आएर प्रहरी सहायक निरीक्षक वृजलाल अधिकारीलाई गोली लाग्यो, सहयोग गरिदिनुपर्‍यो भन्नुभयो,’ वीर अस्पतालमा उपचाररत वीरेन्द्र वृत्तान्त सुनाउन तयार भए । उनले फरकधारसँग घटना साझा गरे । उनले सुनाए,‘मेरो घर जंगलनजिकै छ । सोही कारण प्रहरी मकहाँ सहयोग माग्न आइपुगेका थिए । त्यसपछि म र अरू आठ/दस जना गाउँले भेला भएर प्रहरीलाई सहयोग गर्न जंगलतिर लाग्यौँ ।’ 
 
वीरेन्द्रका अनुसार गाउँलेलाई जंगलमा देखेर तस्करहरू कुलेलम ठोके । तर, घाइते प्रहरीले उनीहरूलाई चिनेनन् । र, केही समय अगाडि आफूलाई गोली हानेर घाइते बनाएका तस्कर फेरी आक्रमण गर्न आएको सोचे । र, आफ्नो ज्यान जोगाउन उनले अन्धाधुन्ध गोली चलाए ।

घाइते प्रहरीले चलाएको गोली वीरेन्द्रको दाहिने छाती (कोखातिर) लाग्यो । घाइते प्रहरीलाई सहयोग गर्न गएका वीरेन्द्रलाई के थाहा, प्रहरीको गोलीको सिकार आफैं हुनुपर्छ भनेर । गम्भीर घाइते भए, वीरेन्द्र । 

आँसु पिएर बाँच्ने वीरेन्द्रको नियति ! 

२०७३ मा वीरेन्द्र १० कक्षा पढ्दै थिए । अन्य विद्यार्थीकै जस्तै उनको सपना पनि उस्तै थियो– पढेर भविष्यमा केही बन्ने । तर, सोचे जस्तो हुन्न, जीवन । वीरेन्द्रलाई के थाहा ! सधैं सोचेको जस्तो कहाँ हुँदोरहेछ र ! वीरेन्द्रको जीवनमा पनि सोच्दै नसोचेको घटना घट्यो । उनले सपनामा पनि देखेका थिएनन्, अहिले बाँचिरहेको जीवन कुनै दिन बाचुँला भनेर । ‘त्यो दिनको घटना सम्झिँदा म अहिले पनि झस्किन्छु । मेरो कुनै गल्तीविनै सजाय सरहको जीवन बाँच्न विवश छु । जीवनमा परेको चोट कम थियो र ? राज्यले पनि मलाई चोटमाथि चोट दिइरहेको छ,’ वीरेन्द्र भावुक सुनिए । 

गोली लागेका कारण विगत सात वर्षदेखि शारीरिक पीडा भोग्दै आएका उनलाई अहिले त मानसिक पीडाले पनि पोल्न थालेको छ । परिवारको जिम्मेवारी थेग्ने काँध नै थाकेको छ,अहिले । 

वीरेन्द्र काशीराम जैसी र मन्नादेवीका जेठा सन्तान हुन् । उनका तीन भाइ छन् । सामान्य परिवारमा जन्मेका वीरेन्द्र नै परिवारको आड,भरोसा हुन् । जेठो सन्तान भएकै कारण उनीमाथी अन्यको तुलनामा उनका आमाबुवाको बढी आस थियो । तर, सात वर्षअघिको घटनाले उनको जीवन रेखा नै फेरिदिएको छ । 

वीरेन्द्रलाई प्रहरीको गोली लािगसकेपछि तत्कालै टीकापुर अस्पतालमा प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेजमा रेफर गरियो । तर अस्पतालले उपचार गर्न नसक्ने भन्दै शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं रिफर गर्‍यो ।  

प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागी निर्दोष वीरेन्द्र अस्पतालको बेडमा महिनौँ लडिरहन्छन् । तर, उनलाई भेट्न राज्यका तर्फबाट कोही पुग्दैनन् ।

‘घर, परिवारको जिम्मेवारी सम्हाल्ने बेलामा आफै परिवारमा भर पर्नुपरेको छ । अशक्त भएकै कारण केही काम गर्न सक्दिनँ,’ वीरेन्द्रले विवशता सुनाए,‘गोली लागेको ठाउँमा दुखिरहन्छ । गाह्रो काम गर्नै सक्दिनँ । महिनाको एक/दुई पटक त अस्पताल गइरहन्छु ।’ 

वीरेन्द्रको दुई बुँदे 

वीरेन्द्र अनसन बसेको स्थानमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, ‘०७३–११–०१ मा प्रहरीलाई बचाउने क्रममा प्रहरीको गोली लागेर घाइते भएकाले र हालसम्म सरकारले उपलब्ध गराउँछु भनेको सेवा, सुविधा तथा राहतहरू उपलब्ध नगराएको र आफ्नो उपचार खर्च आफैंले बेहोर्ने परेको र हालसम्म स्वास्थ्य अवस्था नाजुक रहेकाले उक्त सेवा सुविधा तथा राहत तुरुन्त उपलब्ध गराइपाउँ ।’  

तत्कालीन समयमा शिक्षण अस्पतालमा उपचार गराउँदा वीरेन्द्रको लाखौँ खर्च भएको उनका आफन्त गोविन्द भण्डारा सुनाउँछन् । ‘सरकारको तर्फबाट तत्कालीन समयमा सेवा सुविधा, उपचार खर्च दिन्छौं भने पनि अहिलेसम्म जम्मा एक लाख ९१ हजार मात्र रकम पाएका छौँ । यसबीच भाइको उपचारमा मात्र ८/९ लाख खर्च भइसकेको छ ।’

भण्डाराका अनुसार वीरेन्द्रलाई महिनाको ३/४ पटक उपचार गर्नुपर्छ । शारीरिकरूपमा वीरेन्द्र केही काम गर्न सक्दैनन् । जीविकोपार्जन गर्नसमेत कठिनाइ भइरहेको बेला सरकारले वेवास्ता गर्दा पीडितलाई झन् पिडा पुगिरहेको भण्डाराको भनाइ छ ।

‘प्रहरीले आत्मरक्षाका लागि चलाइएको गोलीले वीरेन्द्र घाइते बनेको नेपाल प्रहरीले स्वीकार गरेको थियो,’ भण्डाराले भने,‘र उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यले नै बेहोर्ने प्रतिबद्धता समेत गरेको थियो ।’ तर, त्यो अहिलेसम्म पनि पूरा भएको नभएको उनी बताउँछन् ।

उपचारमा लागेको खर्च विवरण वीरेन्द्रले जिल्ला प्रशासन कार्यालय,कैलाली र गृह मन्त्रालय  बुझाइसकेका छन् । तर, कतैबाट पनि कुनै प्रतिक्रिया नआएको भण्डाराको गुनासो छ ।  

भण्डाराका अनुसार वीरेन्द्रलाई गोली लागेपछि परिवारले ऋण गरेरै उपचार गराइरहेको छ । आर्थिकरूपमा निकै नाजुक अवस्थामा पुगिसकेकाले अब अस्पताल जाने खर्च पनि नभएकाले अन्तिम विकल्पका रूपमा अनसन बस्न बाध्य भएको भण्डाराको भनाइ छ । 

तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई बारम्बार झकझक्याउँदा पनि वीरेन्द्रको अवस्थाबारे राज्यले कुनै चासो देखाएन । ‘आश्वासन मात्र दिन्छन् । हिजोआज त कुरैसम्म नसुन्ने भएका छन्, राज्यपक्षका व्यक्तिहरू,’ भण्डारा आक्रोशित सुनिए,‘राज्यको संरक्षकलाई सहयोग गर्न जाँदा घटेको घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ की पर्दैन ?’ परिवारले सक्नेजति उपचार गरिरहेको थियो । अहिले उपचार गर्न नसक्ने अवस्था भएपछि राज्यको ध्यानाकर्षण गराउन पनि वीरेन्द्र अनसन बसेको उनको भनाइ छ ।

‘प्रहरीलाई तस्करबाट बचाउन खोज्दा,प्रहरीले मैमाथि गोली चलायो, खर्च बेहोर्ने भनेको सरकारले अहिलेसम्म राहत र क्षतिपूर्ति दिन आलटाल नगर्दियोस्,’ जैसीको दुई बुँदे माग हो,‘सरकारले मेरा लागि उपचार र रोजगारीको प्रबन्ध गरिदिनुपर्छ ।’

नेपाल प्रहरीको एक सिपाहीलाई तस्करबाट जोगाउन उल्टै उसैबाट गोली प्रहार भएर घाइते हुन् पुगेको एक नागरिकको याचना सरकारले सुन्ने कि नसुन्ने ? कि त सिंहदरबारले वीरेन्द्रलाई भनिदिनुपर्‍यो– सरकार कान सुन्दैन ।

  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १३:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया