प्रदीप ज्ञवालीको दाबी : एमालेले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम समाप्त पार्न सरकार कोसिस गरिरहेको छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षड्यन्त्र गरिरहेको बताए । 

कार्यवाहक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको उनले जिकिर गरे । वर्तमान सरकार श्रमिकको पक्षमा नभई पुँजीपति वर्गको पक्षमा रहेकाले उसले गरिब जनताको पक्षमा काम गर्न नसक्ने उनको ठहर छ । 

‘हामीले स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थियौँ । सानातिना रोग हुँदा पनि दौडेर विदेश पुग्ने अथवा काठमाडौंमा सुविधा सम्पन्न हस्पिटल मेडिसिटी होस् अथवा नर्भिक, ग्राण्डी होस् वा ह्याम्स । त्यहाँ गएर उपचार गर्ने सामथ्र्य राख्नेहरुका लागि धेरै ठूलो कुरा होइन होला,’ ज्ञवालीले भने, ‘तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराएर पाँचजनाको परिवारले वर्षभरि एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठूलो क्रान्ति थियो । यो क्रान्तिको सुरुवात स्वास्थ्यमन्त्री हुँदा खगराज अधिकारीजीले गर्नुभएको थियो ।’ 

पछि एमालेले त्यो कार्यक्रमलाई देशैभरि अघि बढाएको तर आज त्यो कार्यक्रमलाई समाप्त पार्ने कोसिस भइरहेको उनले दाबी गरे । ‘मैले अघि भूमि आयोगको कुरा गरेँ । कसरी त्यसलाई निष्प्रभावी पारियो भनेर एमाले सरकारबाट हटेपछि । यहीँनिर फरक पर्छ राज्य कुन वर्गको पक्षमा चलेको छ भनेर,’ उनले भने, ‘हामी नहुँदा श्रमजीवी जनताको पक्षमा गरिएको थुप्रै कार्यक्रम ओझेलमा पारिँदै छन् । खोसिँदै छन् । निष्प्रभावी पारिँदै छन् । बजेट दिइँदै छैन । हामीले एकै दिन ३९६ वटा पालिकामा आधारभूत हस्पिटल शिलान्यास गर्यौँ । आज ती हस्पिटलहरु अलपत्र पारिएका छन् ।’

कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायत कार्यक्रम ल्याए पनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको बताए । 



स्वास्थ्य बिमा कार्यक्रम आफूहरुले ल्याएको ज्ञवालीले दाबी गरे पनि सो कार्यक्रम वर्तमन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोस्रो कार्यकालमा सुरुवात भएको हो । त्यसबेला कांग्रेसका वर्तमान महामन्त्री गगन थापा स्वास्थ्यमन्त्री थिए । सोही कार्यक्रमका कारण अहिले पनि गगनको प्रशंसा हुने गरेको छ ।



  • प्रकाशित मिति : असार १६, २०८० शनिबार १९:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया