जुम्लामा पनि देखियो लम्पी स्किन

हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए ।  

लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ । 

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको भन्दै रोगबाट बढी प्रभावित क्षेत्रलाई प्रथामिकतामा राखिएको बताए । उनले ती क्षेत्रमा तत्कालका लागि पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा औषधि ल्याई पशु प्रविधिकलाई स्थलगतरूपमा खटाई उपचार सुरु गरिएको बताए । 

गाउँपालिका–१ रारामा पनि लम्पी स्किन रोग फैलिएको छ । उपचार गर्ने अहिलेसम्म गाउँमा कोही पनि नआएको स्थानीय पराने बस्नेतको भनाइ छ । यो रोग लागेका गाईभैँसीमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जुम्लाका आठवटै स्थानीय तहका लम्पी स्किन रोग देखा परेको छ । जिल्लामा सबैभन्दा पहिला कनकासुन्दरी गाउँपालिका–४ मा उक्त रोग देखा परको थियो । उक्त स्थानमा हाल उपचारपछि रोग नियन्त्रण आएको छ ।

पछिल्लो समय तातोपानी, सिञ्जा, तिला, गुठीचौर र चन्दननाथ नगरपालिकामा लम्पी स्किन रोग फैलिएको स्थानीय तहबाट जानकारी आएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख  बुढ्थापाको भनाइ छ । सङ्क्रमणलाई रोकथाम गर्नेका लागि चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाले गाईभैँसीलाई लक्षणअनुसार उपचार गरेका छन् ।  



तिलामा देखा परेका सङ्क्रमित गाईगोरु र भैँसीलाई कार्यालयबाट थप औषधि र ५५ वटा खोप पठाएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । रासस 



  • प्रकाशित मिति : असार १८, २०८० साेमबार १२:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया