अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको विरोधमा ललितपुर जिल्ला अदालत अगाडि प्रदर्शन [तस्बिरहरू]

कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन् । 

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । आइतबार नै नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । 

सोही अनुसार आज उनीहरूले आन्दोलन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बोल्दै कानुन व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछाने विरुद्ध लगाइएको मुद्दा झुटो भएकाले मुद्दा अविलम्ब खारेज हुनुपर्ने माग राखे । उनले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरूको तत्काल सरुवा हुनुपर्ने बताए । 

उनले भने, ‘झुटो मुद्दा लगाइएको छ, यो झुटो मुद्दा अविलम्ब खारेज हुनुपर्छ । कर्मचारी उपरको जाहेरी दर्खास्त जुन छ, त्यो दर्ता हुनुपर्छ भन्ने मलाई लाग्छ । अर्को महत्त्वपूर्ण कुरा के देखिन्छ भने हामी उच्च बार पाटनको सदस्य र त्यहाँको पूर्वबार अध्यक्षको हैसियतले पनि के भन्छु भने उच्चबारको सदस्यमाथि भएको घटनाको विषयलाई लिएर उच्चबारले तत्काल वक्तव्य निकाल्यो राम्रो कुरा हो । एउटा व्यक्ति, युनियनका मानिसहरू आएर यहाँ हस्तक्षेप भयो । यो घटनालाई मिलाउन नसक्ने यो अदालतका मुख्य न्यायाधीश पनि यहाँबाट सरुवा हुनुपर्छ । श्रेष्थेदार पनि सरुवा हुनुपर्छ । सम्बन्धित कर्मचारी पनि सरुवा हुनुपर्छ । एक छिन पनि तपाईँहरू यो अदालतमा बस्ने कुनै नैतिक अधिकार छैन । घरभित्रको समस्या समाधान गर्न सक्नुहुन्न भने यहाँ बस्ने अधिकार पनि छैन ।’

आन्दोलनका क्रममा बोल्दै अर्का कानुन व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानुन व्यवसायीमाथि लागेको मुद्दा रहेको बताए । उनले सिसिटिभी फुटेज कसरी छैन भन्ने बारेमा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए ।



उनले भने, ‘अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको छ । मुद्दा पनि कसरी एउटा सिडिओ कार्यालयमा पेस भएको छ, अर्को अदालतमा नै राखिएको छ । ५÷५ दिन कानुन व्यवसायी भित्र बस्नुभएको छ । ख्याख्याल हो । यो एक अमिर लामिछानेको मात्रै कुरा होइन, हामी सबै कानुन  व्यवसायीहरूलाई मुद्दा लागेको महसुस गर्न सक्नुपर्छ । यो छुट अदालतलाई छैन । यो घटनामा सिसी फुटेज हेरिएको भनिएको छ, पैसाको कुरा पनि आएको छ, सिसी फुटेज कसरी बन्द भयो, हिजोसम्म चलेको सिसी फुटेज १३ गते नै कसरी बन्द भयो, त्यो छानबिन भएर दोषीमाथि कारबाही हुनुपर्छ ।’



त्यस्तै अर्का कानुन व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानुन व्यवसायी र कर्मचारीबीचको झगडा नभइ संस्थागत रूपमा कानुन व्यवसायीलाई डिफेम गर्नका लागि साङ्गठनिक रूपमा लागेको देखिएको बताए । 

उनले भने, ‘सिसी फुटेज हेरौँ भन्दा वैशाखमै बिग्रिएर पठाएको भन्ने पत्र आयो । यो समग्रतामा हेर्दा यो खालि कानुन व्यवसायी र कर्मचारीबिचको झगडा नभइ संस्थागत रूपमा एउटा वर्गलाई कानुन व्यवसायीलाई डिफेम गर्नका लागि साङ्गठनिक रूपमा लागेको देखिन्छ । कानुन व्यवसायीलाई बदनाम गरेर तपाई राम्रो हुन सक्नुहुन्न । यो न्यायालय र कर्मचारी वर्गले बुझ्न सक्नुहुन्न ।’

  • प्रकाशित मिति : असार १८, २०८० साेमबार १४:०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया