logo-img

सुडानी अर्धसैनिक बलको शहरमा लुटपाट र आतंक जारी

सुडानको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का बन्दुकधारीले शुक्रबार एक दुर्गम शहरमा आक्रमण गरेको र गोली चलाउनु अघि लुटपाट गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफले करिब तीन महिनादेखि जनरल अब्देल फत्ताह अल बुरहानको नेतृत्वको आधिकारिक सेनासँग लडिरहेको छ । जारी द्वन्द्वले कम्तीमा ३ हजार व्यक्तिको ज्यान लिइसकेको छ र लाखौं विस्थापित भएका छन् ।

उत्तरी कोर्डोफानको राजधानी एल–ओबेदबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको बारामा आरएसएफले ‘बैंक र सार्वजनिक भवन लुटिरहेको’ शहरका केही प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

अर्का स्थानीय अब्देलमोहसेन इब्राहिमले भने, ‘हामी आतङ्कित भएका छौँ, उनीहरूले जथाभाबी गोली हान्ने र लुटपाट गरिरहेका छन् भने सरकारी सेना र प्रहरी कतै पनि देखिएका छैनन् ।’

खार्तूमबाट ३५० किलोमिटर दक्षिणमा रहेको एल–ओबेद एक रणनीतिक व्यवस्थापकीय सामानहरूको जोहो गर्ने एक व्यावसायिक केन्द्र हो । यहाँ विमानस्थल र खाद्य भण्डारणका लागि विशाल गोदामहरू छन् । 

गत अप्रिल १५ देखि जारी द्वन्द्व राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ । ती स्थानहरूमा संयुक्त राष्ट्रसंघले ‘मानवताविरुद्धको अपराध’ हुन सक्ने चेतावनी दिएको छ ।



धेरै नागरिकले आरएसएफले उनीहरूविरुद्ध हिंसात्मक कार्यहरू गरेको आरोप लगाएका छन्, जबकी सशस्त्र बलहरूले उनीहरूको सुरक्षाको लागि थोरै मात्र गरेको आरोप लगाएका छन् ।

युद्ध सुरु भएदेखि आरएसएफले आवासीय क्षेत्रमा बेस स्थापना गरेको छ भने सेनाले आफ्नो हवाई सेवाको लाभ उठाउन संघर्ष गरिरहेको छ ।



आरएसएफले नागरिकहरूलाई उनीहरूको घरबाट बाहिर निकाल्न बाध्य पारेको, सवारी साधन जफत गरेको, अन्य सम्पत्ति लुटेको र महिलाहरूलाई बलात्कार गरेको आरोप लगाइएको छ ।

खार्तूम र डार्फरमा स्थानीय समयअनुसार बिहीबार रातिसम्म पनि हवाई आक्रमण, भारी गोलाबारी र जमिनमा भिडन्तसहित नयाँ भिडन्त भएको बताइएको छ ।

  • प्रकाशित मिति : असार २२, २०८० शुक्रबार २२:४२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया