logo-img

कर्णाली प्रादेशिक रंगशाला निर्माणको प्रगति ६० प्रतिशत
तस्बिर साैजन्य : विशाल सापकोटा

कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत भएको हो ।

हालसम्म रङ्गशालामा दर्शक प्यारापिटमा चार हजार कुर्सीको जडान कार्य सकिएको, भिआईपीतर्फको प्यारापिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको र छाना निर्माणकार्य बाँकी रहेको जनाइएको छ ।

यस्तै, रङ्गशालामा पौडी पोखरी, व्यावसायिक सटर तथा गेट निर्माण कार्य अन्तिम चरणमा रहेको र फुटबल मैदानमा दुबो लगाइ स्तर वृद्धिको कार्य जारी रहेको छ । एथ्लेटिक्स ट्रयाकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिए ।

निर्माणाधीन रङ्गशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको र हालसम्म ६५ करोड ८५ लाख  रुपैयाँ रकम खर्च भएको उनको भनाइ छ । वि.सं २०८१ मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको सञ्ज्यालले जानकारी दिए । 

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा खेलकुद संरचना निर्माण गरिएको पनि उनले बताए । यस्तै, १० औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले दुई अङ्कको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले कर्णाली प्रदेशका खेललाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैअनुसार (क) श्रेणीमा एथलेटिक्स, उसु आइटिफ कराते र तेक्वान्दो गरी पाँचवटा रहेका छन् भने (ख) श्रेणीमा सात वटा बक्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डबल र बास्केटबल) रहेका छन् । 



त्यसैगरी (ग) श्रेणीमा १० कबड्डी, डॉकेट, खोखो, ब्याडमिन्टन, भलिबल, भारत्तोलन, फुटबल टिमको खेललाई वर्गीकरण गरिएको उनले जानकारी दिए । यी वर्गीकरण भर्खरै सम्पन्न भएको नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानी तयार गरिएको हो ।

यस्तै, खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कारस्वरूप २७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ । रासस 



  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १३:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया