बढ्दै इक्यानकाे चुनावी सरगर्मी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएको छ  । असार ३० गते हुने चुनावी अधिवेशनमा अध्यक्ष पदका कुनै पनि उम्मेदवारले सहमति गर्न नचाहेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो ।

अध्यक्ष पदका लागि अहिले तीनजना आकांक्षी रहेका छन् । इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, इक्यानका उपाध्यक्ष शेषराज भट्टराई र कृष्णहरि केसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

इक्यानको निर्वाचन आगामी असार ३० मा हुँदै छ । चुनाव बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने र सोही दिन ५ बजेसम्म मतगणना हुने तथा सोही दिन साँझ ६ बजे मतपरिणाम घोषणा गरिने इक्यानले जनाएको छ ।

अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गर्दै इक्यानले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन् ।

इक्यान नेपालको एजुकेसनल कन्सल्टेन्सीको रूपमा सबैभन्दा ठूलो कन्सल्टेन्सी भएको भन्दै यसको श्रीवृद्धि र थप सशक्त नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको पाण्डेले बताएका छन् । उनले आफूले अहिले यो क्षेत्रमा रहेका समस्या न्यूनीकरणका लागि विशेष पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘समस्या समाधानका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नेछौं भन्ने मलाई विश्वास छ ।’

के हो इक्यान ?



उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्ने शैक्षिक परामर्श व्यवसायीहरु आबद्ध संस्था हो, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) । २७ वर्ष अगाडि स्थापना भएको इक्यान शिक्षासँगै सामाजिक कार्यमा पनि सक्रिय छ ।

इक्यानका हाल चितवन, कास्की, ललितपुर, झापालगायत ६ वटा जिल्लामा शाखा छन् । इक्यानमा हाल परामर्श केन्द्र ६ सयको हाराहारीमा आबद्ध रहेका छन् । जसमध्ये ४६८ जनाको भोटिङ कार्ड छ । बाँकी परामर्श केन्द्रहरु प्रशिक्षणकालीन अवस्थामा भएकाले अन्यले भोट हाल्न नपाउने भएको इक्यानले जनाएको छ । इक्यानका अनुसार परामर्श केन्द्र खुलेको ६ महिनासम्म इक्यानले प्रशिक्षण समय छुट्याएको छ । त्यसैले ४६८ बाहेकले भोट हाल्न नपाउने भएका हुन् । 



इक्यानको पहिलो कार्यकालका अध्यक्ष उत्तम पन्त थिए । उनले ३ कार्यकाल इक्यानको अध्यक्ष भएर काम गरे । पन्तको कार्यकाल समाप्त भए पनि इक्यानका अध्यक्ष राजेन्द्र बराल भए । उनले इक्यानको अध्यक्षको पदमा बसेर दुई कार्यकाल काम गरिसकेका छन् । यस्तै, इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डेले पनि अध्यक्ष भई दुई कार्यकाल काम गरिसकेका छन् । पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले एक कार्यकाल काम गरिसकेका छन् । हालसम्म इक्यानमा ८ वटा कार्यकाल सकिइसकेको छ भने आगामी अधिवेशनपछि नवौँ कार्यकाल सुरु हुनेछ । 

के–कस्ता काम गर्छ ?

इक्यानले परामर्श क्षेत्रसँग जोडिएका नीतिको लागि राज्यसँग छलफल गर्ने र नीतिहरु बनाउने र त्यसलाई व्यवस्थित बनाउने कामलाई प्राथमिकता दिएको छ । अभिभावक र विद्यार्थीले ढुक्क भएर सेवा लिने वातावरण बनाउँछ । यसका साथै सरकारको तर्फबाट शैक्षिक परामर्श दातृ संस्थालाई स्वीकृति दिने, नवीकरण गर्ने र नियमन गर्न पहलकदमी गर्ने काम पनि इक्यानले नै गर्दै आइरहेको छ ।

यसबाहेक इक्यानले विभिन्न कूटनीतिक नियोगसँग मिलेर इक्यानका सदस्यलाई भिसाका नीति त्यसमा भएका संशोधनको बारेका तालिम तथा अपडेट गराउने काम गर्दै आएको छ । इक्यानले विद्यार्थीलाई टेक्स्ट बुक, सदस्यमार्फत समयमा रजिस्ट्रेसनको लागि सहजीकरणको परिस्थिति निर्माणसमेत गरिरहेको छ ।  
 

  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १८:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया