टिकटक र युट्युबको सहायतामा सीप सिकेर व्यवसाय

कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन् । 

पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छन् । ‘मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु,’ उनले भने, ‘मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु ।’

सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा कार्यरत छिन् । साँझ बिहानको समयमा सामान उत्पादन गर्ने पुष्पाको व्यवसाय पनि राम्रै चलिरहेको उनको भनाइ छ । ‘बिक्री पनि फेसबुक र टिकटकबाट भइरहेको छ, मैले बनेका सामान फेसबुक तथा टिकटकमा राख्छु, भिडियो पनि हाल्छु, अनि माग आउँछ,’ पुष्पाले भनिन् । 

उनले बनाएका सामान कैलाली मात्र नभइ अन्य जिल्ला र विदेश बस्ने नेपालीले माग गर्ने भएकाले विदेशमा समेत पठाउने गरेकी छन् । मानिसले बढी खर्च गर्ने भनेकै लाउन र खानमा हो । नयाँ डिजाइनका पहिरन लगाउन, मीठो खान सबैलाई मनपर्छ । मानिस खानाका विभिन्न परिकार खान्छन्, लगाउने लुगाकपडा तथा गहना, चुरापोतेजस्ता सामान पनि नयाँ फेसनका मन पराउँछन् । पछिल्लो समय महिला सामाजिक सञ्जालको प्रयोग गरेर नयाँ–नयाँ सीप सिक्न थालेकी छन् । 

विगतका मानिसले विभिन्न सीप सिक्न निश्चित तोकेको ठाउँमा जानुपर्थ्यो । तोकिएको ठाउँमा गएर, शुल्क तिरेर सीप सिक्नुपर्ने बाध्यता थियो । तर पछिल्लो समय परिस्थिति बदलिएको छ । इच्छा भएकाहरू सामाजिक सञ्जाल तथा युट्युबको सहायताले सीप सिकिरहेका छन् । 

टीकापुरकै कृष्णा भण्डारीले केही वर्षअघि केही गरौँ भनी धनगढीमा गएर १० दिन पोते बुन्ने तालिम लिइन् । ‘तालिमपछि मैले पोते बुनेर यहाँकै पसलमा बिक्री गर्न थालेँ, खपत राम्रै हुन थाल्यो,’ कृष्णाले भनिन्, ‘केही वर्षअघि सिकेको फेसन आजभोलि चल्दैन, त्यसैले नयाँ डिजाइनका पोते बुन्नुपरेमा टिकटक र युट्युब हेर्ने गरेकी छु ।’ 



कृष्णाले पनि चुरापोते, बरमालाका सबै सामान आफैंले उत्पादन गरेर बिक्री गर्ने गरेकी छन् । पेसाले शिक्षक रहेकी उनले घरमै पसल सञ्चालन गरेकी छन् । उनले आफूले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने, विभिन्न पालिकामा प्रशिक्षण दिने गरेकी छन् । 

‘विद्यालयबाहेकको समय सीप विकासमा खर्च गर्छु । सयौँ महिलालाई चुरापोते, बरमाला र स्वीटर बुन्न सिकाएकी छु,’ कृष्णाले भनिन्, ‘अरूले उत्पादन गरेको सामान आफूले किनिदिनेसमेत गरेकी छु ।’



सामाजिक सञ्जालको प्रयोगका फाइदा–बेफाइदा दुवै छन् । सामाजिक सञ्जाल चलाउँदा नकारात्मक सामग्री हेर्ने गरियो भने मानिसलाई घाटा हुन्छ । चाहिने ज्ञान, सीपमूलक भिडियो हेरियो, त्यसलाई व्यवहारमा उतार्न सकियो भने फाइदा पाएकाहरू पनि धेरै छन् ।  

टीकापुरकी अर्की व्यापारी ममता न्यौपानेले पनि बुनाइका धेरै डिजाइन युट्युब तथा टिकटकबाट सिक्ने गरेकी छन् । फेन्सी कपडा पसल सञ्चालन गरिरहेकी ममताले पोते, माला र स्वीटर बुन्ने र बिक्री गर्ने गर्छिन् । ‘मैले पनि नयाँ पहिरन र फेसनका स्वीटर तथा माला युट्युब र टिकटकबाट सिक्ने गरेकी छु,’ उनले भने, ‘यो मोबाइल त धेरै उपयोगी रहेछ । यसमा नभएको केही रहेनछ । यसलाई चलाउन जानेमा धेरै कुरा सिक्न पाइने रहेछ ।’          

लामो समयदेखि सिलाइकटाइ व्यवसाय गरिरहेकी टेलर व्यवसायी इन्द्रा चौधरीले पनि सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेकी छन् । उनले नयाँ फेसनका लुगा सिलाउनुपर्दा मोबाइलको सहायतामा युट्युबबाट हेरेर सिक्ने गरेकी छन् । ‘सुरुमा ससुराले सिलाइ पसल सञ्चालन गर्नुभएकाले मैले उहाँबाटै सीप सिकेकी हुँ,’ उनले भनिन्, ‘आजभोलि नयाँ फेसनका लुगा सिलाउनुपर्छ । नयाँ डिजाइनका लुगा छिट्टै फैलन्छन् । ग्राहकले जस्तो फेसन चाहियो भन्छन्, उस्तै सिलाउन सक्छु । कसैलाई फिर्ता पठाएको छैन । मोबाइलमा हेर्छु अनि यस्तै बनाउन सक्छु ।’    

हरेक प्रविधिका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । अधिकांश मानिस मोबाइल तथा इन्टरनेटमा भुल्दा काम नलाग्ने सामग्री हेरेर भुल्न हुँदैन । मोबाइलको गलत प्रयोग गर्दा दुःख पाएका, समय बर्बाद गरेका पनि धेरै छन् । कुनै पनि प्रविधि वा मोबाइल चलाउँदा आफूलाई चाहिने कुरामात्र हेर्नु आवश्यक छ । 

शिक्षक अमर चौधरी इन्टरनेटमा मानिसलाई आवश्यक कुरा हेर्ने र सिक्ने गरेमा जीवनलाई व्यवसायी बन्न सघाउने बताउँछन् । ‘मोबाइलको गलत लत लागेका पनि धेरै छन्, यी महिलाले जस्तै मोबाइलको सही प्रयोग गर्न आवश्यक हुन्छ,’ उनले भने, ‘सामाजिक सञ्जाल तथा प्रविधिको सही सदुपयोग गर्न आवश्यक छ । सही सदुपयोग गरेमा सामाजिक सञ्जालमा धेरै काम लाग्ने कुरा पनि हुन्छन् ।’ रासस 

  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार ११:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया