logo-img

श्रावणमा सोमबारको व्रत किन बस्ने ? [भिडियोसहित]

ऋतुचक्र निरन्तर चलिरहन्छ । वर्षा ऋतुको पावन महिनाका श्रावण हो । धार्मिकरूपमा श्रावण महिनाको विशेष महिमा रहेको छ । ज्योतिषशास्त्रअनुसार श्रवण नक्षत्रका दिन पूर्ण हुने महिना श्रावण हो । पूर्णिमाका दिन श्रवण नक्षत्र पर्ने भएकाले यो महिनालाई श्रावण भनिएको हो । वर्षा ऋतुको पवित्र महिनाका रूपमा पनि श्रावणलाई लिइएको छ । आकाश एवं धर्ती स्वच्छ रहने भएकाले यो महिनालाई ‘नभा’ भन्ने संज्ञा दिइएको छ । 

श्रावण महिनामा सूर्य कर्कट राशिमा रहन्छन् । सूर्य साक्षात् शिवजीका आँखा हुन् । यसैगरी कर्कट राशिका स्वामी चन्द्रमा हुन् । यसैगरी चन्द्रमाका स्वामी साक्षात् शिवजी हुन् । यसरी साक्षात् शिवजीको महिना श्रावण (चन्द्रमाको राशि कर्कटमा सूर्य रहने) भएकाले पनि यो महिना शिव उपासनाका निम्ति विशेष रहेको हो । यसैले शिव आराधनाका निम्ति सबैभन्दा उत्तम महिना श्रावण हो र श्रावणको पनि उत्तम दिन सोमबार हो । 

यसैगरी अन्य सबै महिनाभन्दा भगवानलाई श्रावण नै प्रिय लाग्ने गर्दछ । भगवानले १२ महिनामध्ये श्रावण नै मेरो प्रिय महिना हो भनी स्कन्दपुराणमा बताउनुभएको छ । यसैले प्रिय समयमा भगवानको कथा श्रवण पनि उत्तम रहन्छ । श्रावण महिनामा गरिएको शिव उपासना एवं ग्रहजप, होम, तर्पण, दान सम्पूर्ण मनोबाञ्छित फलदायी रहन्छन् भनी स्कन्दपुराणमा बताइएको छ । यो समयमा गरिएका यज्ञ मनोकामना सिद्धिदायी हुन्छन् । वर्षाकालीन समय स्वच्छ र पवित्र रहनु साथै यो समयमा गरिएका यज्ञ यागादि मनोकामना सिद्धिदायी रहने भएकाले श्रावण महिनालाई विशेष रूपमा लिइएको हो । 

यसैगरी सूर्य साक्षात् शिवजीको आँखा हुन् । कर्कट चन्द्रमाको राशि हो । चन्द्रमाका मालिक साक्षात् शिवजी हुनुहुन्छ । यही शिवजीको राशिमा सूर्य एकमहिना रहने भएकाले श्रावण महिना शिवउपासनाका निम्ति उत्तम रहेको हो । 

श्रावणका सोमबारको महिमा  



सोम भनेको चन्द्रमाको नाम हो । चन्द्रमाले प्रतिनिधित्व गर्ने बारलाई सोमबार भनिन्छ । यजुर्वेदअनुसार चन्द्रमाको उत्पत्ति परमात्माको मनबाट भएको मानिन्छ । यसैगरी सहस्र नाममध्ये नक्षत्रसाधक, सोम आदि पनि भगवान् शिवका नाम हुन् । चन्द्रमाका स्वामी साक्षात् शिवजी हुनुहुन्छ । यसैगरी सोम अर्थात् चन्द्रमालाई महादेवले शीरमा नित्य स्थान दिनुभएको छ । शीतलता प्रदान गर्ने सोम शिवस्वरूप नै भएकाले सोमबार शिवजीको विशेष उपासना गरिएको हो । 



बाह्रवटै महिनाका सोमबार शिव उपासनाका निम्ति उत्तम मानिन्छन् । यदि यी वर्षभरिका सोमबार शिवजीको उपासना गर्न सकिएन भने पनि श्रावणको सोमबार व्रत धारण गर्नाले वर्षभरि गरिएको व्रतबराबर नै फल प्राप्त हुन्छ भनी स्कदपुराणमा बताइएको छ  । यसरी  श्रावणको सोमबार व्रत बस्नाले समस्त व्रतको फल मिल्ने भएकाले पनि श्रावणको सोमबारलाई विशेष रूपमा लिइएको हो ।  

जसले पार्वतीसहित शिवजीको उपासना गर्दछन्, ती व्यक्तिले पुनरावृत्तिरहित अथवा पुनर्जन्मरहित भई अक्षय लोकको प्राप्ति गर्दछन् भनी सोमबारको व्रतफल बताइएको छ । पुत्र चाहनेले पुत्र, सन्तति चाहनेले सन्तति, धन चाहनेले धन, जे जस्तो कामना राखेको छ, सोहीअनुसार फल प्रदान गर्ने श्रावणको सोमबारको महिमा रहेको छ । श्रावणको सोमवार व्रत धारण गर्नाले मनले चाहेअनुसारको फल प्राप्त हुने गर्दछ । यसैगरी यो लोकको लामो समय अभीष्ट (इच्छाअनुसारको) भोग गरेर मृत्युपश्चात् पनि स–सम्मान विमानमा चढी रुद्रलोक जान पाइन्छ  भनेर पनि पुराणमा चर्चा पाइन्छ ।  

श्रावण  शिवजीको प्रिय महिना भएकाले उचित समयमा गरिएको कार्य पूर्णतः फलदायी रहन्छ । यसैले अभीष्ट सिद्धिका निम्ति भगवानको उपासनास्वरूप रुद्राभिषेक गरिन्छ । भगवानको उपासना गर्ने तीन मुख्य विधि छन् । पहिलो हो, अभिषेकात्मक । जसअन्तर्गत भगवान्को प्रतिमा राखी पञ्चामृतसहित जलाभिषेक गरिन्छ । अर्को हो, जपात्मक । जसअन्तर्गत भगवानका मन्त्र जपद्वारा उपासना गरिन्छ । यसैगरी अर्को यज्ञ हुन्छ, हवनात्मक । जसमा मन्त्रोच्चारणपूर्वक हवन गरिन्छ । यी तीन यज्ञमध्येको एक अभिषेकात्मक यज्ञ नै रुद्राभिषेक हो । 

नीलकण्ठ भगवान्ले कालकूट विषलाई कण्ठमा धारण गर्नुभएको छ । सोही तापबाट शान्तिका निम्ति देवगणले जलवर्षा गरेको समय श्रावण रहेकाले पनि यो महिना रुद्राभिषेकका साथै शिवउपासना  शिवप्रीतिदायी रहने गर्दछ ।  

जसबाट  भगवान् प्रसन्न भई वरदान दिनुहुन्छ । भगवानको प्रीतिका निम्ति पञ्चामृतको अभिषेक उत्तम मानिएको छ । पञ्चामृतमा गाईको दूध, दही, घिउ, मह, चिनी वा सख्खर पर्दछन् । अभीष्ट सिद्धिका निम्ति भगवानको उपासना गर्ने एक सरल विधि रुद्राभिषेक हो । श्रावणमा व्रत गरी प्रत्येक दिन रुद्राभिषेक गर्नाले आशुतोष भगवान् शिव प्रसन्न हुने कुरा स्कन्दपुराणमा बताइएको छ । 

अधिकमास र शिवउपासना 

यो वर्ष श्रावण महिनामा अधिकमास परेको छ । अधिकमास परेको समयमा काम्य कर्म भने भने निषेध रहन्छन् । काम्य कर्म भनेको जुराएर गरिने विशेष धार्मिक अनुष्ठान हुन् । जुराएर गरिने विशेष कामना युक्त रुद्राभिषेक अधिकमासको समयमा गरिँदैन । सधैँ लिइआएको सोमबारको व्रतलाई निरन्तरता दिनुपर्दछ । यो वर्ष श्रावण महिनामा नै अधिकमास परेकाले अधिक श्रावणमासमा पनि सोमबारको पनि व्रत लिनुपर्दछ । यसैले जनैपूर्णिमा पूर्वका सोमबारसम्म व्रत धारण गर्नुपर्ने धर्मशास्त्रीय निर्णय पाइन्छ । 

सोमबारको सर्वप्रथम व्रत आरम्भ भने अधिकमासको समयमा नगर्नु राम्रो हुन्छ । नयाँ व्रत लिनेका निम्ति अधिकमासमा सोमबारको व्रत आरम्भ नगर्नु उचित हुने धर्मशास्त्रीय मत रहेको छ । नियमित रूपमा गरिआएका सोमबारका व्रतलाई भने विधिपूर्वक निरन्तरता दिनुपर्दछ ।  

शिवशक्ति आद्य परमात्मा परब्रह्म हुनुहुन्छ । यो संसार  भगवान् शिवकै अंश रूपमा चलिरहेको छ । शिवको अर्थ कल्याण भन्ने पनि हुन्छ । भगवानको उपासना सर्वकल्याणकारी रहने गर्दछ । भगवान् सर्वत्र सर्वव्यापक हुनुहुन्छ । कार्य, अवस्था र प्रकृति अनुसार भगवानको उपासना गर्ने भिन्न भिन्न समय र तत् अनुसारको फल वर्णन शास्त्रमा गरिएको छ । हरेक कार्य गर्ने विशेष दिन र समयको हुने गर्दछ । शिवउपासनाका निम्ति उत्तम समय र दिन श्रावण महिना र त्यसमा पनि सोमबार रहेकाले यो समय शिव उपासकका निम्ति विशेष रहने गर्दछ । 

  • प्रकाशित मिति : साउन १, २०८० साेमबार ७:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया