प्रदीप ज्ञवालीको आरोप : प्रधानमन्त्रीले परराष्ट्र नीति सन्तुलन गुमाउने खालको काम गर्नुभयो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन् ।  

प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीवीलाई समेत आग्रह गरे । 

त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञवालीले सत्ता टिकाउनका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए ।

‘असंलग्नता नेपालको लागि सान्दर्भिक छ । पछिल्ला दिनमा त्यसमा बिचलनहरू देखा पर्न थालेका छन । सबैले प्राज्ञिक ढंगले सरकारलाई होसियार बनाऊ है ? सत्ता टिकाउनका निम्ति जस्तोसुकै पनि जोखिम गर्दा केही वर्ष सत्ता टिक्ने कुरा एउटा होला कि । तर नेपालजस्तो देशले धेरै-धेरै मूल्य चुकाउनु पर्छ । यो कुरामा चाहिँ होस् गराैँ भन्ने आग्रह गर्दछु,’ ज्ञवालीले भने, ‘सरकारलाई म विशेष गरेर असंलग्नताको हाम्रो मूलभूत सिद्धान्तभन्दा दायाँबायाँ हुने गरी अहिले जे कदमहरू पछिल्लो समय भए । देखा पर्दैछ । र एउटा जनरल पर्सेप्सन्स नै नेपाल चाँही नजानिदो ढंगले एउटा शक्ति राष्ट्रको एक्सेसतिर टेक हुँदैछ भन्ने केही तथ्यहरू पनि त्यस्तो देखिन्छ । त्यो कुराबाट सरकार एकदमै होसियार हुन जरुरी छ ।’

प्रधानमन्त्री दाहालले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत् खरिदसहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए ।

पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढि आशक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको ज्ञवालीले पटकपटक दोहोर्याए ।  



‘नेपालको प्राकृतिक स्रोतमाथि हामीले कतै आफ्नो नियन्त्रण गुमाउँदै गएका हौ कि । निश्चय नै ऊर्जामा हामी भारतसँग नै साझेदारी गर्ने । तर त्यसमा पनि तपाईँसँग आफ्नो हातमा त केही हुनु पर्‍यो नि । २७ वर्षदेखि पञ्चेश्वर, १२ वर्षदेखि अपर कर्णाली, त्यसमाथि फुकेट कर्णाली, त्यसपछि पश्चिम सेती, अरुण, लोअर अरुणहरूको कुरा सुन्छौँ । त्यसमा साझेदारी हुन्छ कि हामी एकदमै हात बाँधेर । किनभने बजार एउटै छ । लिन्न भनेपछि खेल खत्तम । यो खालको स्थितिबाट जान हुँदैन । राष्ट्रिय हितहरूको सन्दर्भमा पनि त्यो सन्तुलनलाई हामीले गुमाउन्नु हुन्नँ,’ ज्ञवालीले भने । 

उनले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । 



  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १४:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया