एशियाली मुलुकका मानवअधिकार रक्षकको सुरक्षा चुनौती बढ्दो छ : फोरम एशिया

मानव अधिकार तथा विकास मञ्च (फोरम एसिया) ले विश्वव्यापीरूपमा मानवअधिकार रक्षकको सुरक्षा चुनौती बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ । 

फोरम एसियाको काठमाडौंमा बसेको बोर्ड बैठकले एसिया महादेशभित्रका सबै देशहरूमा मानवअधिकार रक्षकहरूको अवस्था एउटै रहेको र उनीहरूमाथि दैनिकरूपमा नयाँ-नयाँ प्रकृतिका चुनौती थपिँदै गएको निष्कर्ष निकाल्दै अन्तरदेशीय सञ्जाल बनाएर मुद्दाको पैरवी गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

देशभित्रै विकसित राजनीतिक घटनाक्रम, सीमा क्षेत्रमा दैनिक हुने मानवअधिकार उल्लंघनका घटना, अन्तरदेसीय सम्बन्धलगायतको प्रत्यक्ष असर मानव अधिकार रक्षकहरूमा पर्ने गरेको निष्कर्ष बैठकले निकालेको छ । फोरम एसियाले व्यापार व्यवसायका कारण पनि मानवअधिकार उल्लंघन हुनेक्रम बढ्दै गएकाले त्यसतर्फ पनि सचेत हुन सबैलाई आह्वान गरेको छ । 

विश्वव्यापी उदारीकणसँगै विकसित घटनाक्रमले मानवअधिकार रक्षककै सुरक्षामा चुनौती थपिएको भन्दै बैठकले मानवअधिकारको रक्षा र मानवअधिकार रक्षकको सम्मानका लागि सबै एकजुट हुनुपर्नेमा जोड  दिएको हो ।

फोरम एसियाका अध्यक्ष जेराल्ड जोसेपले दक्षिण एसियाली मुलुकमा मानवअधिकार रक्षकमाथि बढ्दै गएको चुनौती सामना गर्न अन्तरदेशीय सञ्जाल बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले मानवअधिकार रक्षक सरकारका विरोधी नभएको र उनीहरू मानव अधिकारको रक्षा, लोकतन्त्र र विकासको मुद्दाका सहयोगी हुन् भन्ने बुझाउनु आवश्यक रहेको बताए ।  

‘मानवअधिकार रक्षकहरू सरकारका विरोधी हैनन् । सरकारका सहयोगी हुन् । जसले सरकारसँग मिलेर मानव अधिकारको रक्षा, लोकतन्त्र र विकासको मुद्दा उठाउँछन् । यो मामिलामा दक्षिण एसियाका सबै देश उस्तै छन्,’ जेराल्डले भने, ‘हामी मानव अधिकार रक्षकहरु अहिले पनि एक सम्मानित पहिचानको लागि संघर्ष गरिरहेका छौँ । देशको विकासको लागि मानवअधिकार रक्षकहरूको पनि भुमिका हुन्छ भन्ने बुझाउनु छ । दक्षिण एसिया क्षेत्रमा क्रियाशील सबै देशका मानवअधिकार रक्षकहरूले अब देशभित्र मात्र नभएर अन्तरदेशीय सञ्जाल बनाएर सबैका मुद्दाहरू उठाउन आवश्यक छ ।’



भारतका मानवअधिकार रक्षक कृति रोयले अहिले पनि अन्तरदेशीय सीमामा हिंसात्मक गतिविधि भइरहेको ती घटनाका पिडितले न्याय पाउन नसकेको र ती क्षेत्रमा अधिकारका लागि लड्ने मानवअधिकार रक्षकको सुरक्षा चुनौती बढेकाले सबै देशका मानवअधिकार रक्षक अधिकारको लडाइमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । 

‘मानवअधिकार रक्षक र पीडितको रक्षाको लागि कानुनहरू फितलो छन् । केही मूल कानुनहरू छन् तर ती सबै पर्याप्त छैनन् । कति कानुन त कार्यान्वयन नै हुन सकेका छैनन् । नेपालमा मानव अधिकार रक्षाका लागि धेरै कानुन छन् । तर सबै कार्यान्वयन भएको अवस्था छैन,’ जेराल्डले भने, ‘भारतमा पनि धेरै कानुन छन् । सर्वोच्च अदालतको आदेशहरू पनि छन् । तर कुनै पनि कार्यान्वयनमा आएको छैन । कतिपय अन्तरदेशीय सीमामा हिंसात्मक गतिविधि हुन्छन् । यो कसले हेर्ने ? अब मानवअधिकारवादी संस्थाहरूले सबै क्षेत्रमा हुने मानवअधिकार हननका घटनामा चासो बढाउनुपर्छ । यसको लागि सबै मिलेर काम गर्न आवश्यक छ ।’



फोरम एसियाकी बोर्ड सदस्य एवं मानवअधिकार रक्षक डाक्टर रेणु अधिकारीले समुदायस्तरमा काम गरिरहेका मानव अधिकार रक्षकको अवस्थामा अहिले पनि सुधार आउन नसकेको र थप सुरक्षा चुनौती बढेको बताए । उनले विश्वव्यापीरूपमा नै देखिएको आर्थिक संकटले थपेको चुनौतीसँगै व्यापार व्यवसायका कारण मानवअधिकारमा थप्न सक्ने जोखिमतर्फ सजग हुँदै मानवअधिकार रक्षकको सुरक्षा र सम्मानका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘समुदायस्तरमा काम गरिरहेका मानवअधिकार रक्षकहरूको सुरक्षा चुनौती बढेको छ । शहरमा कार्यरतहरू कम जोखिममा रहेको देखिएको भए पनि तल्लो तहमा काम गर्नेहरूले बढी हिंसा खेपिरहेका छन्,’ उनले भने ।

मानवअधिकार रक्षकहरू सम्मिलित ८५ वटा संस्थाको साझा सञ्जाल फोरम एसिया २४ वटा देशमा कार्यरत छ । फोरम एसियाको बोर्डमा नेपालसहित ९ वटा देशको प्रतिनिधित्व रहेको छ । 

  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार १२:२९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया