logo-img

अर्थतन्त्रलाई जुस निर्यातले दिनसक्छ भरोसा
जुस उत्पादनमा भारतीय कम्पनीको दबदबा, नेपाली उद्योगी किन देखिएनन् अग्रसर ?

कुनै पनि देशको अर्थतन्त्र कति बलियो वा कमजोर छ भन्ने थाहा पाउन त्यस देशको व्यापार क्षमतालाई हेर्ने गरिन्छ । नेपालको अर्थतन्त्र परम्परागत रूपमा कृषिप्रधान छ र दशकौंदेखि देशको व्यापारको मूल संरचना पनि कृषिमै आधारित रहँदै आएको छ ।

कृषिले नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै एकतिहाइ र कुल रोजगारीको दुईतिहाइ प्रतिनिधित्व गर्छ । नेपालको जैविक तथा भौगोलिक विविधताका कारण यहाँ उत्पादनगत विविधताको क्षमता रहे पनि त्यसको उपयोग गर्न सकिएको छैन, जसका कारण नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि उपभोग र आयातमुखी बन्दै गएको छ ।

जसको प्रभाव हाल अर्थतन्त्रमा देखा परेको छ,अहिले हाम्रो बढ्दो व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा कमीको एउटा कारण आयात नै रहेको विज्ञको भनाइ छ । बढ्दो व्यापार घाटा कम गर्ने प्रमुख आधार आयात प्रतिस्थापन र निर्यात वृद्धि हो । 

नेपालबाट कुनै वस्तु निर्यात नै नहुने भन्ने होइन । तर, जति निर्यात हुन्छ, त्यसको कयौं गुणा आयात हुन्छ । जसको प्रभाव नराम्ररी अर्थतन्त्रमा देखा परेको हो । नेपालको निर्यात क्षेत्रमा असीमित सम्भावना छन् । तर, त्यसको उपयोग गर्न हामी चुकिरहका छौँ । नेपालको निर्यात व्यापार न्यूनतम आठ गुणाले बढाउन सकिने आँकडा विश्व बैंकले यसअघि सार्वजनिक गरेको थियो। 

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो - जुस । बर्सेनि जुस निर्यातबाट नेपालले ठूलो विदेशी मुद्रा आर्जन गरिरहेको छ । विगतमा धेरैले कल्पना नगरेको जुस निर्यातको पछिल्लो अवस्थाले गुणस्तरीय उत्पादन र निर्यात प्रोत्साहन हुने हो भने हाम्रो कृषिकै विकासले आर्थिक वृद्धिदर बढाउन सक्छ भन्ने देखाएको छ । यसका क्षेत्र अथाह छ । तर अझ हामीले त्यसअनुरूप निर्यात गर्न सकिरहेका छैनौँ । 



कति हुन्छ निर्यात ? 

नेपालको कुल वस्तु निर्यातको ४.१० प्रतिशत हिस्सा जुस निर्यातको छ । नेपालबाट निर्यात हुने अधिकांश वस्तुको निकासी घटिरहेका बेला जुसको भने वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर ६ अर्ब १० करोड ३ लाख ७९ हजार रुपैयाँको जुस निर्यात गरेको छ ।



योबीचमा ५ करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भयो । नेपालले गत वर्षको सोही अवधिमा ५ अर्ब ४० करोड १७ लाख ६८ हजार रुपैयाँको जुस निर्यात गरेको थियो । नेपालले गत आर्थिक वर्षमा ६ अर्ब ७ करोड ८७ लाख रुपैयाँको जुस निर्यात गरेको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब २२ करोड ९९ लाख रुपैयाँको जुस निर्यात गरेको थियो । आव २०७६/७७ मा ३ अर्ब ४३ करोड २२ लाख रुपैयाँको, आव २०७५/७६ मा ४ अर्ब ५७ करोड ३५ लाख रुपैयाँको र आव २०७४/७५ मा ४ अर्ब ७६ करोड ९ लाख रुपैयाँको जुस निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नेपाली जुसको माग बढ्दै गएपछि थप निर्यातको सम्भावना देखिएको छ।

नेपालमा उत्पादन भएको जुस भारतपछि बङ्गलादेश, चीन, इटाली, कोरिया, माल्दिभ्सलगायतका देशमा निर्यात हुने गर्छ। सरकारले शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) र कृत्रिम जुस (फ्लेवर्ड सिन्थेटिक ड्रिङ्क्स) को आयातमा प्रतिबन्ध लगाएसँगै स्वदेशी जुसको निर्यातमा वृद्धि भएको हो । शक्तिवर्धक पेय र कृत्रिम जुसको आयातमा चार वर्षदेखि प्रतिबन्ध छ। अत्यावस्यक वस्तुबाहेक स्वदेशमै उत्पादन हुने वस्तुको आयातमा नियन्त्रण वा भन्सार दर उच्च राखी आयात प्रतिस्थापन गर्ने नीतिको औचित्य जुस निर्यातमा भएको वृद्धिले पुष्टि गर्छ।

त्यसो त जुस उत्पादनमा बहुराष्ट्रिय कम्पनी डाबर इन्टरनेसनल लिमिटेडको ९७.५० प्रतिशत हिस्सा छ । त्यसले ४० भन्दा बढी प्रकारका जुस उत्पादन गरी निर्यात गर्दै आएको छ । उत्पादित जुसमध्ये ६० प्रतिशत निर्यात हुन्छ भने ४० प्रतिशत जुस आन्तरिक बजारमा खपत हुने गरेको डाबर नेपालले जनाएको छ । 

कति छन् जुस उत्पादन गर्ने उद्योग ?

नेपालमा साना–ठूला गरेर धेरै जुस उद्योगहरू दर्ता भएका छन् । तर, उनीहरूले निरन्तरता भने दिन सकेका छैनन् । आर्थिक वर्ष २०५१/०५२ देखि २०७५/०७६ सम्म ४८७ वटा फलफूलको जुस र स्क्वास उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

 देश संघीयतामा गएपछि अहिले तथ्याङ्क संकलन गर्न बाँकी रहेको उद्योग विभागका सूचना अधिकारी रमिला भण्डारीको भनाइ छ । यति धेरै उद्योग दर्ता भए पनि सञ्चालनमा कमै मात्र जुस उद्योग सञ्चालनमा छन् । त्यसमा पनि भारतीय कम्पनीले नेपालमा लगानी गरेका छन् ।   

कति हुन्छ फलफूल उत्पादन?

नेपाल कृषिप्रधान देशमा विभिन्न फलफूलको खेती प्राचीन समयदेखि हुँदै आएको छ । उच्चपहाडी भागमा स्याउ, ओखर, खुर्पानी, कागती र बदामको खेती गरिन्छ भने मध्य पहाडी भागमा अमिलो वर्गको विशेष गरी सुन्तला जातको फलफूलको साथै नासपाती, आरु, आरुबखडा आदि हुन्छ । तराईमा आँप, लिची, केरा, भुइँकटहर आदिको खेती हुँदै आएको राष्ट्रिय फलफूल विकास केन्द्रले जनाएको छ। 

सबै फलफूलहरू निश्चित समयसम्म मात्र पाइने भएकोले समयअनुसारको उपयुक्त फलफूलको जुस बनाएर ताजा जुसपसल मार्फत व्यवसाय हुँदै आएको छ । जुस बनाएर फलफूलको संरक्षण तथा सदुपयोगका साथै यिनीहरूको प्रयोगबाट शरीरले विभिन्न भिटामिनको साथै खनिजतत्वहरू पनि पाउने भएकोले यसको आफ्नै महत्व छ ।

करिब ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जग्गा मध्ये ४.७९% फलफूल खेतीले ओगटेको छ भने ७.०४% कृषिको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिएको राष्ट्रिय फलफूल विकास केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत याम कुमारी श्रेष्ठले बताइन् ।

उनका अनुसार विश्वका सबै क्षेत्रमा पाइने सबै खालको फलफूल नेपालमा उत्पादन हुन्छ । सरकारले पनि फलफूल व्यवसायको व्यापक विस्तार गरि १० वर्षभित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका लागि आर्थिक वर्ष २०७४ देखि २०८२/८३ सम्मलाई फलफूल दशकको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छ । 

केन्द्रका अनुसार नेपालमा फलफूलको क्षेत्र विस्तार तथा उत्पादनको गति बढ्दो क्रममा रहेको छ। सन् २०१९/२० मा एक लाख ७१ हजार ३१८ हेक्टर क्षेत्रफलमा कुल १२ लाख ४९ हजार ७६४ टन फलफूल उत्पादन भएको थियो। यस्तै सन् २०१८/१९ मा एक लाख ६४ हजार ६२३ हेक्टरमा ११ लाख ७७ हजार ६४० टन फलफूल उत्पादन भएको थियो । 

यसैबीच सन् २०१७/२०१८ मा एक लाख ६० हजार ३९४ हेक्टरमा १० लाख ८६ हजार ९३१ टन उत्पादन हुँदा २०१६/२०१७ मा एक लाख ६२ हजार ६६० हेक्टरमा खेती भएको थियो भने १० लाख १८ हजार ३०८ टन फलफूल उत्पादन भएको थियो । 

फलफूलबाट निर्यातयोग्य वस्तु उत्पादन हुँदै आएको छ। फलफूलबाट जुस मात्र होइन, कतै वाइन उद्योग सुरू भएको छ त कतै बिस्कुट, चकलेट, जेली, जाम, जुस, आइसक्रिम, सफेनिङ्ग, कस्मेटिक, औषधि, चुक, अचार, भेनिगार, बटर, क्रिम, स्याम्पु, साबुन आदि उद्योगका लागि फलफूल प्रशोधनको काम पनि भइरहेको उनी बताउँछिन्। फलफूल खेती विस्तार र उद्योग स्थापनालाई एकैपटक अगाडि बढाउन सक्दा मुलुकको समृद्धिमा ठूलो टेवा पुर्याउने उनको भनाइ छ।

‘नेपाली भन्ने बित्तिकै स्वयंमा एउटा ‘ब्रान्ड’ जस्तो भएकोले नेपालको कृषि वस्तुको राष्ट्रिय–अन्तर्राष्ट्रिय बजार विस्तार सजिलो पनि छ,’ उनी भन्छिन्, ‘यसको लागि गुणस्तरमा भने सम्झौता गर्नुहुँदैन । फलफूल क्षेत्रको विकास गर्नसके नेपालले धेरै फाइदा लिन सक्छ।’

उत्पादन प्रक्रिया, प्रयोगशाला परीक्षणको विवरण, खानयोग्य रहने मिति आदि उल्लिखित विश्वासिलो लेबल र आकर्षक प्याकिङ गर्ने हो भने फलफूलको जुसले सजिलै अन्तर्राष्ट्रिय बजार लिने उनको विश्वास छ।

सम्भावना अथाह तर आयातकै भर

नेपालमा सबै किसिमका फलफूल उत्पादन गर्न सकिने सम्भावना भए पनि कच्चापदार्थ आयातमै भरपर्नुपर्ने उद्योगी बताउँछन् । नेपालमा विशेषगरी फलफूल खेती मूलतः परम्परागत, घरायसी उपभोगका लागि छ। गुणस्तरीय उत्पादन र बजार प्रवर्द्धन हुन सकेको छैन । 

एउटा बहुराष्ट्रिय कम्पनीले यहीँ जुस उत्पादन गरेर निर्यात गर्न सक्छ भने नेपालीले नै विकसित र व्यवस्थित खेती तथा गुणस्तरीय उत्पादन गर्न नसक्ने भन्ने कुरै नहुने नेपाल निर्यात परिषदका उपाध्यक्ष नरेशलाल श्रेष्ठ बताउँछन् ।

उत्पादन, प्रशोधन, भण्डारण र बजार प्रवर्द्धनमा समुचित नीति तथा प्रोत्साहन भएमा फलादि र पेयमा आत्मनिर्भर हुन मात्र होइन; निर्यात गरेर आम्दानी गर्न सकिने उनको विश्वास छ । उपाध्यक्ष श्रेष्ठका अनुसार व्यापार घाटाको विकराल अवस्थाबाट जोगिन विदेशी वस्तु तथा सेवामाथि कम भर परेर आत्मनिर्भर हुने नीतिको व्यावहारिक कार्यान्वयन हुनु पर्छ । 

स्वदेशी कच्चा पदार्थमै भर परेर गरिने उत्पादन मात्र होइन; विदेशबाट कच्चा पदार्थ ल्याएर गुणस्तरीय उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। ‘सकेसम्म कच्चा पदार्थ आफ्नै देशमा उत्पादन गर्नुपर्छ, ’ उनी सुझाउँछन्, ‘उत्पादन गर्न सकिएन भने कच्चा पदार्थ आयात गरेर भए पनि निर्यात गर्न छाड्नु हुँदैन। यसरी निर्यात गर्दा पनि धेरैले नेपालमै रोजगारी पाउनुका साथै नेपाली उत्पादन विश्वसामू चिनाउने एउटा मौका पनि हुन्छ।’

अझ उदाहरण दिँदै उनी थप्छन्, ‘कुनै बेला हाम्रै अवस्थामा रहेको लाओसलगायतका देशहरूले दुई तीन वर्षमै निर्यातमा उल्लेख्य सुधार गरेका छन् । हामीले अरू देशले कसरी निर्यातबाट फड्को मारिरहेको छ। यो कुरा पनि अध्ययन गर्न जरुरी छ ।’ यदी कृषि उपज उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्न सके आत्मनिर्भर हुने अनि निर्यात प्रवर्द्धन गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको आकलन छ । 

तर, सरकारको नीतिले निरूत्साहित निर्यात कर्ता

अनगिन्ती वस्तु नेपालले आयात गरिरहँदा हातमा गन्न सकिने वस्तु मात्र निर्यात गर्दै आएको छ। तर, पछिल्लो समय सरकारको नीतिका कारण अझ दयनीय अवस्थामा पुगेको नेपाल निर्यात परिषदका उपाध्यक्ष श्रेष्ठ बताउँछन्। उनका अनुसार नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर छ। 

‘विगतको तुलना निर्यातित वस्तुको अवस्था एकदमै दयनीय छ,’ उनी दुख व्यक्त गर्छन्, ‘नीतिगत सुधार नगर्ने र स्वदेशी उद्योगलाई प्रवर्द्धन नगर्ने हो भने हामी अझै खस्कन्छौं।’

नेपालको अर्थ नीति तथा क्रियाकलापलाई रेमिट्यान्स र आयातको राजश्वमा आधारित बनाइँदा निर्यात उद्योग संकटमा फसेको श्रेष्ठको भनाइ छ । अझ आगामी आर्थिक वर्षको बजेट कार्यक्रमबाट त झन निर्यात उद्योग धरासायी हुने उनको आकलन छ । 

बजेट कार्यक्रममा सरकारले कच्चा पदार्थमा समेत भ्याट लगाउने घोषणा गरेको छ । ‘सरकारले सुविधा दिनु त कहाँ हो, कहाँ ? भएको सुविधा पनि कटौती गर्दै आएको छ,’ उनी भन्छन् ।  जुस निर्यातमा मात्र होइन, समग्र निर्यातमा कम्तीमा १० प्रतिशत अनुदान दिनुपर्ने उनको जिकिर छ ।  

निर्यात मुलक उद्योगलाई सहज पुनकर्जा र निर्यात कर्जाको बिमाको व्यवस्थासँगै बैंकको ब्याजदर घटाउनु पर्ने उनको भनाइ छ । ‘निर्यात गर्ने मात्रै भनेर हुँदैन, त्यसका लागि सबैभन्दा पहिला उत्पादन बढाउनुपर्छ । उत्पादन बढाउन वित्तीय स्रोत चाहिन्छ, सरकारले ऋणमा सहजीकरण गरिदिनुपर्छ,’ उनी भन्छन्, ‘अर्डर आएपछि सामान दिनुपर्छ तर कच्चा पदार्थ अभाव हुने, मजदुरलाई सेवासुविधा दिन नसक्ने जस्ता कारणले कयौं उद्योग अहिले पनि समस्यामा छन् ।  

  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार १२:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया