घाटाको बजेटले भुक्तानी सन्तुलन बिग्रियाे : सचिव शर्मा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको खुलासा गरेका छन् । सचिव शर्माले राज्यको ढुकुटीमा पैसा भएरभन्दा पनि राजस्व, वैदेशिक ऋणमाथि भर परेर बजेट आउने गरेकाले भुक्तानी समयमै हुन नसकेको बताए । 

मंगलबार काठमाडौंमा आयोजित ‘विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले बजेट आफैँ घाटामा आउने गरेकाले विकास आयोजनाका लागि सरकारले समयमै भुक्तानी गर्न नसकेको पनि स्पष्ट पारे । 

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण निर्माण व्यवसायी बाउन्स चेकको इस्युमा जेल जानुपर्ने अवस्था आएको गुनासो गरेका थिए । त्यसको जवाफ दिने क्रममा सचिव शर्माले राज्यको ढुकुटीमा बजेट नभएको कारण भुक्तानीमा समस्या भएको बताए । 

अहिले पनि राजस्व र वैदेशिक ऋण प्रक्षेपण गरिएअनुसार आउन नसकेका कारण विकास आयोजनाहरुको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताए । सचिव शर्माले वैदेशिक ऋण ल्याउने काममा ढिलाइ भएका कारण विकास खर्च आर्थिक वर्षको अन्त्य जेठ, असारमा आएर मात्रै हुने गरेको समेत उनले बताए । 

कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानी नगर्दा आफूहरुले विकास, निर्माणको कामलाई अघि बढाउन नसकेको गुनासो गरेका थिए । उनले पुरानो बिलहरुको समेत सरकारले भुक्तानी नगरेकै कारण निर्माण व्यवसायी बाउन्स चेकको कसुरमा जेल जानुपर्ने अवस्था आएको बताए । अध्यक्ष सिंहले सरकार आफैँ विकास, निर्माणको काम अघि बढाउन गम्भीर नभएको आरोपसमेत लगाए । 

अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण कतिपय निर्माण व्यवसायी साइट पनि जान नसक्ने, अफिसमा पनि जान नसक्ने अवस्थामा पुगेको स्मरण गराए । 





  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार १७:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया