सुन बरामद प्रकरण : हालसम्म के भयो प्रगति ?

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई राजस्व अनुसन्धान विभागको टोलीले रोक्यो । विमानस्थलबाट भन्सार कटेर सिनामंगल पुग्नै लाग्दा रोकिएको ट्याक्सीबाट उक्त टोलीले ठूलो मात्रामा सुन बरामद गर्‍यो ।

मोटरसाइकल तथा स्कुटरको ब्रेकसुमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको जहाजबाट उक्त सुन काठमाडौं ल्याइएको थियो ।

सुन तस्करी भइरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले तस्करीमा संलग्न गिरोहले निगरानी गरिरहेको थियो । विमानस्थलको यात्रु गेटदेखि कार्गो क्षेत्रका भित्र र बाहिर अत्यन्तै गोप्य अप्रेसन गर्दै कडा निगरानीमा रहेको टोलीले ट्याक्सी जम्मा गरेर निस्किँदै गर्दा सुन बरामद गर्न सफल भएको हो ।

भारतीय र चिनियाँसहित ८ जना पक्राउ 

यो प्रकरणमा एक जना भारतीय र एक जना चिनियाँसहित ८ जना पक्राउ परिसकेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा सुन लुकाएर ल्याइएको स्कुटरको ब्रेकसु आयात गर्ने कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ ।

यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । बिहीबार उक्त प्रकरणमा चिनियाँ नागरिक लिङ चुवान पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 



उनी नेपाल छाडेर जानेक्रममा विमानस्थलबाटै पक्राउ परेका  हुन् ।  त्यस्तै अर्का एक युवक पनि पक्राउ परेका छन् । चितवनका अशोक लामा पक्राउ परेका हुन् । अन्य दुई जना भन्सार एजेन्ट र ट्याक्सी चालक रहेका छन् ।

सुनसहितको ब्रेकसुको तौल १५५ किलो



बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको थियो । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । 

त्यसपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक सुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले तौल नाप गरेको छ । स्रोतका अनुसार राजस्व राष्ट्रबैंकले जोखेको ती ब्रेकसुको कूल तौल १५५ किलो आएको  छ । 

जम्मा १६० वटा ब्रेकसुमध्ये एउटाबाहेक सबैमा सुन भेटिएको बताइएको छ । अब ती ब्रेक सुबाट सुन निकालेर सुनको मात्रै तौल जोखिने छ । राष्ट्रबैंकले सुन मात्रै जोखेपछि मात्रै बरामद गरिएको सुनको वास्तविक तौल थाहा हुनेछ ।

विमानस्थलमा थप सुन रहेको आशङ्का,  जाँच हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशङ्का भएसँगै त्यसको जाँच गर्न थालिएको छ । विमानस्थलमा अर्को सय केजी सुन भेटिएको खबर आएपछि  राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना नै विमानस्थल भन्सार कार्यालय पुगेका हुन् ।

विमानस्थलमा तस्करीको थप सुन रहेको आशंकामा जाँच भइरहेको हो । 

छानबिन गर्न भन्सार विभागले बनायो समिति

सुन तस्करीबारेमा छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । 

भन्सार जाँच पार गरेर तस्करीको सुन बाहिरिएपछि त्यसबारेमा छानबिन गर्न समिति गठन गरिएको हो । समितिले भन्सारका कर्मचारीको कमजोरी बारे छानिबिन गरेर पाँच दिनभित्र प्रतिवेदन बुझाउने छ । 

सुन तस्करी प्रकरण : एक चिनियाँ नागरिक पक्राउ
बरामद भएको एक करोड सुन आयातमा मेरो संलग्नता छैन : दीपक मल्होत्रा
सुन तस्करी प्रकरणको छानबिन गर्न भन्सार विभागले बनायो समिति
सुन तस्करी प्रकरण : जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्दै भन्सार विभाग
एक क्विन्टल सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ
हङकङबाट नेपाल आएको थियो झण्डै एक क्विन्टल अवैध सुन, भन्सार पासपछि सिनामंगलबाट बरामद
त्रिभुवन विमानस्थलबाट ५० किलोभन्दा बढी सुन बरामद

  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १७:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया