logo-img

यु–१६ युथ फुटबल लिग : चर्च ब्वाइजमाथि संकटाको जित

संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा चर्च ब्वाइज क्लबमाथि ४–१ को फराकिलो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी युथ लिगमा बिहीबार संकटाले चर्च ब्वाइजमाथि फराकिलो जित निकालेको हो । 

जारी लिगमा संकटाको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा भने संकटा एपिएफसँग २–१ ले स्तब्ध भएको थियो । चर्च ब्वाइजले भने लगातार दोस्रो हार बेहोरेको छ । यसअघि पहिलो खेलमा चर्च ब्वाइज फ्रेण्ड्स क्लबसँग २-० ले पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा संकटाका लागि सबिनकुमार लुंगेली मगरले दुई गोल तथा रूपेश भुजेल र कृष्णबहादुर आलेले समान एक गोल गरे ।

चर्च ब्वाइजका कुनाल जिम्बाले एक गोल फर्काए । खेलको १६औँ मिनेटमा संकटाका दिलेन लिम्बूले डिएरियाभित्र प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार चर्च ब्वाइजका रोहन परियारले सहजै बचाउ गरे । तर, २४औँ मिनेटमा सविनले गोल गर्दै संकटालाई अग्रता दिलाए । मनीष थापामगरले दिएको लामो पास नियन्त्रणमा लिँदै सविनले गोल गरेका हुन् । त्यसको चार मिनेटपछि नै संकटाले अर्को गोल गर्यो । किशोरकुमार दनुवारको कर्नर पासमा सविनले हेडमार्फत दोस्रो गोल गरे ।

पहिलो हाफको थप समयमा दिलेनको अर्को प्रहार चर्च ब्वाइजका गोलकिपर रोहनले मुस्किलले बचाउँदा संकटाले फराकिलो अग्रता लिने अवसर गुमायो । दोस्रो हाफमा पनि संकटाले दुई गोल थप्दा चर्च ब्वाइजले एक गोल फर्कायो । ५३औँ मिनेटमा कुनाल जिम्बाले लामो पास नियन्त्रणमा लिँदै काउन्टर अट्याकमार्फत गोल गरे । त्यो गोलसँगै चर्च ब्वाइज खेलमा फर्कने संकेत गर्यो । यद्यपि, ८०औं मिनेटमा संकटाले तेस्रो गोल गर्यो । चर्च ब्वाइजका डिफेन्डर युर्गेन रुम्बाले ब्याक पास नियन्त्रणमा लिन नसक्दा उक्त बल खोस्दै संकटाका रूपेश भुजेलले गोल गरेका हुन् ।

८५औँ मिनेटमा संकटा अर्को गोल थप्दै फराकिलो जिततर्फ अग्रसर भयो । डिएरियामा चर्च ब्वाइजका खेलाडीले लडाएपछि संकटाले पेनाल्टी अवसर पायो । उक्त पेनाल्टीमा कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई फराकिलो जित दिलाए । कुल १० टोली सहभागी युथ लिगमा दोस्रो चरणको खेल सुरु भएको छ । 

आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दै छन् । लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन् । उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन् ।
 





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १९:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया