जुम्लामा नुनको अभाव छैन, १७ सय क्विन्टल मौज्दात छ : साल्ट ट्रेडिङ

जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले १ हजार ७ सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५ सय ५० क्विन्टल र गुरुचौर डिपोमा ३ सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख  प्रमुख मल्लले भने, ‘जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने  छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।’

गतअसार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाँडभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको कार्यालयले जनाएको छ । 

गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए ।

तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए । रासस 





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार ९:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया