भरतपुरमा मन्त्रिपरिषद्को बैठक बस्न आग्रह गरिने

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ । 

सोही सन्दर्भमा आज चितवनमा आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरूपमा मनाउने बताइन् । यसै क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोध गर्न लागिएको उनले जानकारी दिइन् । 

देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको छ । भ्रमण वर्षका अवसरमा विश्वभर रहेका भरतपुरवासी र विदेशीलाई आमन्त्रण गरिँदैछ । दाहालले नेपाल ट्रस्टको आँपटारीमा रहेको दियालो बङ्गला अवलोकन गर्नका लागि खुल्ला गर्न पहल भइरहेको बताइन् ।

भ्रमण वर्षको प्याकेज छिट्टै सार्वजनिक गरिने भन्दै उनले चितवन राष्ट्रिय निकुञ्जभित्र नियन्त्रणमा लिएर राखिएको बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापनका लागि आग्रह गरिएको बताइन् । महानगरभित्र हरियाली बनाउन ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ भने टोलमा नियमित सरसफाइका लागि अभियान अघि बढाइएको उनले बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, गीता गुरुङ, ज्ञानजङ्ग लामा, ठाकुर ढकालसहित राजनीतिक दलका जिल्ला नेतृत्व एवं प्रतिनिधि, कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, गैर–आवासीय नेपाली महासङ्घका प्रतिनिधिलगायतले आ–आफ्नो सुझाव राखेका थिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पर्यटनविज्ञ विश्व सुवेदीलगायतले महानगरका तर्फबाट भ्रमण वर्षको तयारीका बारेमा जानकारी दिएका थिए । 





  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार २२:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया