logo-img

के-के छन् नेपालबाट निर्यात हुने वस्तु ?

चालू आर्थिक वर्ष ०७९–८० मा नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो अघिल्लो आवको तुलनामा २१.४४ प्रतिशत कम हो । सो आवमा २ खर्ब रुपैयाँको निर्यात भएको थियो । जुन ऐतिहासिक थियो । तर, यसपटक भने निर्यातमा कमी आएको छ । 

यी हुन् सबैभन्दा बढी निर्यात हुने वस्तु

१. पाम तेल

नेपालको निर्यात व्यापार न्यून छ । जसले गर्दा व्यापार घाटाको खाडल अत्यधिक ठूलो छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु कुन होला ? धेरैको बुझाइ नेपालमा उत्पादन हुने अदुवा, अलैंची वा यस्तै जडीबुटी भन्ने हुन सक्छ, तर होइन । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा नेपालमा उत्पादन नै नहुने पाम आयल परेको छ ।

रिफाइन्ड गरिएको पाम तेलको निर्यात नेपालबाट धेरै निर्यात हुने गरेको छ । चालू आर्थिक वर्ष ०७९–०८० को ११ महिनामा पाम तेल निर्यातबाट १९ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । गत आव ०७८–०७९ मा भने ४१ अर्ब रुपैयाँको पाम तेल निर्यात भएको थियो । 

गत आर्थिक वर्षको भन्दा यस वर्ष पाम तेलको निर्यात आधाले घटेको हो । भारतले ५० प्रतिशत भन्सार शुल्क लगाएकोमा अहिले त्यसलाई घटाएर पाँच प्रतिशत मात्रै कर लगाउँछ । जसका कारण नेपालबाट जाने पाम तेलको निर्यात प्रभावित भएको विभागले जनाएको छ । 



आर्थिक वर्ष ०७८–०७९ मा अहिलेसम्मकै उच्च निर्यात भए पनि त्यसलाई टिकाइरहनबाट सरकार चुकेको छ ।

२. धागो 



विदेशी मुद्रा नेपाल भित्र्याउने अर्को महत्वपूर्ण वस्तु हो– धागो (पलिस्टर, भिस्कोष, मिश्रित धागोलगायत) । धागोले बेला–बेला नेपालको निर्यातमा कीर्तिमानी कायम गरिरहेको हुन्छ । पछिल्लो समय नेपाली धागोको उच्च माग छ । चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्ममा ११ अर्ब २४ करोडको धागो निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष ०७८–०७९ मा १२ अर्ब ८४ करोड रुपैयाँबराबरको धागो निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

यसैबीच ०७७–७८ मा ८ अर्ब ५२ करोड, ०७६–७७ मा ७ अर्ब २५ करोडको धागो निर्यात हुँदा ०७५–७६ मा ९ अर्ब ७७ करोडको धागो विभिन्न देशमा निर्यात भएको थियो ।  यसरी भन्सार विभागको तथ्यांकलाई केलाउँदा बर्सेनि धागो निर्यात बढ्दो छ । 

नेपालबाट निर्यात हुने धागोको ठूलो हिस्सा भारत जान्छ । त्यसपछि टर्की र दक्षिण कोरिया प्रमुख आयातकर्ता रहेका छन् । बाँकी जापान, भियतनाम, जर्मनी, बेलायत, फ्रान्स, इटाली, क्यानडालगायत देशमा पनि स–सानो हिस्सा जाने नेपाल धागो उत्पादक संघले जनाएको छ । 

कपडा बुन्न आवश्यक कच्चा पदार्थ धागो हो । विश्वमै धागोका प्रमुख स्रोत भनेका रेसम र कपास खेती तथा भेडापालन हुन् । अन्य स्रोत पनि नभएका होइनन्, तर ती नगण्य छन् । नेपालमा उत्पादित ठूला तथा साना उद्योगबाट हाल कपडा, सर्टिङ–सुटिङ होजियरी, स्वेटर आदि विभिन्न उत्पादनमा प्रयोग हुने धागो उत्पादन भइरहेका छन् ।

उत्पादित धागोमध्ये ७५ प्रतिशत निर्यात हुन्छ भने २५ प्रतिशत नेपालमा खपत हुने गर्छ । 

३. गलैँचा (कार्पेट)

नेपालको कुल निर्यात घट्दा पनि गलैँचा (कार्पेट)को निर्यात भने बढेको छ । भन्सारको विवरणअनुसार नेपालले यस अवधिमा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर कार्पेट बिक्रीबाट ११ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ ।

यस्तै, आर्थिक वर्ष ०७८–७९ मा ९ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको गलैँचा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, आव ०७७–७८ मा ७ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको थियो । यस्तै, आव ०७६–७७ मा ६ अर्ब १५ करोड ७७ लाख र आव ०७५–७६ मा ७ अर्ब ३६ करोड रुपैयाँबराबरको थियो । 

यसरी पछिल्ला वर्षको तथ्यांकलाई आधार मान्ने हो भने गलैँचा निर्यात बढ्दो छ । नेपालमा बनेका गलैँचाको बजार भनेको नै अन्तर्राष्ट्रिय बजार हो । उत्पादन भएका अधिकांश गलैँचा विदेशमा नै निर्यात हुने गर्दछ । नेपाली गलैँचा हाल अमेरिकासहित विश्वका ५० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपाली गलैँचा अमेरिकीले सबैभन्दा बढी रुचाएको पाइन्छ ।

४.आइरन एन्ड स्टिल प्रडक्ट

नेपालले निर्यात गर्ने प्रमुख वस्तुमध्ये एक हो– आइरन एन्ड स्टिल प्रडक्ट । चालू आर्थिक वर्ष ०७९–०८० को ११ महिनामा ९ अर्ब ८९ करोड रुपैयाँको आइरन एन्ड स्टिल प्रडक्ट निर्यात भएको छ । गत आर्थिक वर्ष ०७८–०७९ मा ३ अर्ब ७८ करोड रुपैयाँको आइरन एन्ड स्टिल प्रडक्ट निर्यात भएको थियो । स्टिल तथा फलामजन्य वस्तुमा नेपालबाट विशेषगरी जस्ता पाता, फलामे तार, पाइपको निर्यात हुन्छ । 

हुलास, आरती तथा जगदम्बाजस्ता कम्पनीले निर्यात गर्दै आएका छन् । नेपालबाट निर्यात हुने अधिकांश प्रमुख वस्तुको निर्यात घट्दा पनि फालम तथा स्टिलजन्य वस्तुको निर्यात बढेको छ । स्टिल उद्योगलाई सरकारले संरक्षण गर्ने नीति लिएकाले पनि निर्यातमा प्रभाव देखिन थालेको व्यवसायीले बताएका छन् । 

५. सोयबिन तेल

पाँचौँ ठूलो नेपालको निर्यात सोयबिन तेलको छ । नेपालले ३ करोड १२ लाख किलो बढी सोयबिन तेल बिक्री गरेर ८ अर्ब ४७ करोड रुपैयाँ आर्जन गरेको भन्सार विभागले जनाएको छ । निर्यात हुने वस्तुमा सधैँ पहिलो वा दोस्रोमा रहने सोयबिन तेल निर्यातमा यसपटक भने गिरावट आएको छ । ११ महिनाको अवधिमा भटमासको तेलको निर्यातमा ८१.८ प्रतिशत ह्रास आएको हो । गत वर्ष सो अवधिमा ४६ अर्ब ५८ करोड ७० लाख ४८ हजार रुपैयाँको भटमासको तेल निर्यात भएको थियो ।  

भारतले भटमासको तेल आयातमा भन्सार शुल्क घटाएसँगै निर्यात ह्वात्तै घटेको विभागले जनाएको छ । भारतले सोयबिन तेलको आयातमा लाग्दै आएको भन्सार शुल्क ५० प्रतिशत घटाएकाले भारतीय व्यापारीले अन्य देशबाट ल्याउन थालेपछि नेपालबाट कम जान थालेको हो । अहिले भारतीय व्यापारीले नेपालबाट नभई उत्पादक देशबाट सोझै आयात गर्दा उनीहरूलाई सस्तो पर्छ । भटमास तेल पूर्ण स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर निर्यात हुने गर्छ । 

नेपाली व्यापारीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)अन्तर्गतको सात प्रतिशत छुट सुविधा लिएर भारत पठाउने गरेका थिए । भटमास तेल नेपालको आफ्नो उत्पादन होइन र नेपालले उपभोग पनि धेरै गर्दैनन्, तर तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात गर्दा नेपालको निर्यात व्यापारमा यसको हिस्सा ज्यादा देखिने गरेको छ । 

यी त भए नेपालबाट निकासी भएका प्रमुख पाँच वस्तु । यीबाहेक अलैँची, जुट तथा जुटका सामान, तयारी पोसाक, जुस, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पस्मिना सल, कपडा, चाउचाउ, एसिड, जडीबुटी, नेपाली हाते कागज, अदुवा र जुत्ताचप्पललगायतका वस्तु निर्यात गर्दै आएको छ । 

कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादनबिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अति आवश्यक हुन्छ ।

  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार १६:४१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया