परवेज मुसरफको अन्तर्वार्ताः इमरान खान असल, मोदी खराब

एजेन्सी– भारतीय पत्रकार भूमिका रायले पाकिस्तानी पूर्वप्रधानमन्त्री परवेज मुसरफसँग कुरा गरेकी छिन् । पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनावको विषयमा केन्द्रित रहेर बिबिसी हिन्दीमा प्रकाशित यो अन्तर्वार्ताको अनौपचारिक अनुवादः

 

तपाईंको नाम लिएर मिडियामा आएको छ कि पाकिस्तानी जासुसी संस्थाले आतंककारी संगठन जैश ए मोहम्मदको प्रयोग गर्छ । यो कुरामा कत्तिको सत्यता छ ?

मैले कहिल्यै पनि भनेको छैन कि हाम्रो जासुसी संस्था जैश ए मोहम्मदलाई समर्थन गर्छ । तर, मैले के भनेको हुँ भने जसरी हाम्रो देशमा रअले यहाँका संगठनलाई समर्थन गर्छ, त्यसरी नै तपाईंको देशमा हाम्रो जासुसी संस्थाले त्यहाँका संगठनलाई समर्थन गर्छन् । म त यो कुरा सधैं भन्न सक्छु, यो दुवै तर्फबाट छ । 

 

पुलावामामा आक्रमणपछि भारतले हवाई आक्रमण गर्यो । यसबारे तपाईंको विचार के छ ?



भारतले गलत गरेको हो । म यसलाई कहिल्यै राम्रो मान्न सक्दिनँ । त्यो अत्यन्त ठूलो गल्ती थियो, यसले हामी आक्रमण गर्छौँ भन्दै नयाँ युद्धमा पुग्ने बाटो बनाएको छ । नियन्त्रण रेखाबाट कटेर आउनुलाई पाकिस्तानले कहिल्यै समर्थन गर्न सक्दैन । 

 



तपाईं त मान्नुहुँदो रहेछ कि पाकिस्तानमा सैनिक शासन नै ठिक थियो । अहिले इमरान खानबारे केही भन्नु छ कि ?

मलाई लाग्छ, जुनसुकै शासन भए पनि त्यहाँका जनता खुसी हुनु पर्छ । देशले राम्रो गर्नुपर्छ । हो, पाकिस्तानमा जब सैनिक शासन आएको छ, त्यसले त्यहाँ फाइदा नै गरेको छ । यो कुनै छिपाउने कुरा होइन । मेरो समयमा पनि पाकिस्तानमा निकै धेरै विकास भएको थियो । जुन प्रजातन्त्रले जनताका लागि काम गर्दैन, त्यसको के अर्थ हुन्छ र ?

 

अहिलेको पाकिस्तान के तपाईंलाई बदलिरहेको पाकिस्तान हो जस्तो लाग्छ ?

हो । पछिल्लो एक दशक पाकिस्तान बर्बाद मात्र भयो । प्रजातन्त्र त थियो तर जनता शोसित थिए, पानी थिएन, खाना थिएन । यस्तो अवस्थामा प्रजातन्त्र किन चाहियो ? अब इमरान आएपछि उनी केही कुरा फेर्न चाहन्छन्, उनको नियत अत्यन्त राम्रो छ । 

 

तर, भन्छन् नि, पाकिस्तानमा प्रधानमन्त्री जो भए पनि सत्तामा त सेना नै हुन्छ नि ?

यो त प्रपोगान्डा फैलाइएको मात्र हो । सेनाले केही गरिरहेको छैन । यो त हल्लामात्र हो । पाकिस्तानलाई नराम्रो देखाउने प्रपञ्चमात्र हो । यहाँ अहिले इमरान बहुत राम्रो गरिरहेका छन् । अब उनको नकारात्मक कुरा किन भएको छ भने उनी पाकिस्तानका लागि राम्रा छन् । हामीलाई भारतका लागि राम्रो नेता चाहिएन, पाकिस्तानका लागि भए हुन्छ ।

 

त्यसो भने तपाईंलाई लाग्छ, इमरान खानको सोचले भारत–पाकिस्तान समस्या हल हुन्छ ?

इमरान खानको पक्षबाट यो समस्या समाधान हुन्छ तर मोदीजीको तर्फबाट हुँदैन । इमरान खान त पूरै कोशिस पनि गरिरहेका छन् । तर, तपाईंका प्रधानमन्त्री, बाँकी नेता जे कुरा गरिरहेका छन् र टिभीमा जे आइरहेको छ त्यसले समस्या समाधान होला भन्ने लाग्छ र ?

  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १८:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया