बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै सुपका मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसहित सत्ता साझेदार दलका शीर्ष नेताको आज बिहान बालुवाटारमा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले बताए । 

 उनले भने, ‘प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने तयारी छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन सक्छ ।’ सत्ता साझेदार भए पनि अहिलेसम्म सरकारमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टी सरकारमा जान सहमत भएसँगै सरकार विस्तारको तयारी गरिएको जनाइएको छ । 

नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र राज्यमन्त्री पाउन लागेको बताइएको छ । 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा परी निधन भएपछि यो मन्त्रालय मन्त्रीविहीन छ ।  

बैतडी जिल्लाको प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको बुझिएको छ । दुई मन्त्री र एक राज्यमन्त्री नियुक्तिपछि प्रदेश सरकारले पूर्णता पाउने बताइएको छ । 



गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता शाहले यसअघि कांग्रेसका सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का रमेशसिंह धामी, सामाजिक विकास मन्त्रीमा माओवादीकै झपटबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा माओवादीका गीतादेवी माल छन् । 



  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार २२:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया