विश्वस्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा डा. आचार्यको उम्मेदवारी

विश्वस्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । 
    
नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसंघलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो । दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बंगलादेशबाट पनि उम्मेदवारी परेको छ । 
    
नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ । दक्षिण पूर्वी एसियामा नेपाल र बंगलादेशसँगै भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र छन् ।
    
आचार्य विगत ३० वर्षदेखि विश्वस्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गर्दै आएका छन् । आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ ।
        
‘दक्षिण पूर्वी एसियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसंख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छु,’ डा. आचार्यले भने, ‘त्यसबाहेक विश्वव्यापी प्राथमिक स्वास्थ्य सेवामा बलियो र समावेशी पहुँच स्थापित गर्दै दिगो विकासका लक्ष्य हासिल गर्नुलाई पनि प्राथमिकतामा राखेको छु ।’
    
साथै कोरोना महामारी, प्राकृतिक प्रकोपलगायतका विपद्बाट भविष्यमा उत्पन्न हुनसक्ने समस्या समाधानका लागि बलियो स्वास्थ्य सेवाको सुनिश्चितता उपलब्ध गराउनु पनि आफ्नो प्राथमिक रहेको उनको भनाइ छ ।

‘विश्वव्यापी रूपमा सूचना प्रविधिका क्षेत्रमा भएको भइरहेको नवीनतम विकासलाई सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा अधिकतम प्रयोग गर्दै समता र समानताका आधारमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नु मेरो उद्देश्य हुनेछ,’ उनले भने । 
    
त्यसैगरी ‘वान डब्ल्यूएचओ’ अभियानअन्तर्गत राष्ट्रिय–क्षेत्रीय–मुख्यालयबीचको प्रभावकारी सञ्चारमार्फत स्वास्थ्य सेवाको पहुँचलाई अधिकारमुखी, जनमुखी, लैंगिक उत्तरदायित्व बनाउनु आवश्यक रहेको उनको भनाइ छ । यसका लागि स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सशक्तीकरण, लैंगिक उत्तरदायित्व, समावेशीका लागि सरोकारवालाको सहकार्यमा जोड दिनुपर्नेमा उनको भनाइ छ । 
    
डा. आचार्यले आफूले विश्वस्वास्थ्य संगठनमा आबद्ध भई करिब तीन दशकयता विभिन्न जिम्मेवारीलाई कुलशतापूर्वक निर्वाह गरेको तथा आगामी दिनमा पनि क्षेत्रीय निर्देशकका रुपमा काम गर्न अब्बल भएकाले आफूले उम्मेदवारी दिएको बताए । 





  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार १५:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया