मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

गत ३१ जेठमा मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । यस्तै, ३१ जना बेपत्ता छन् ।  

ती जिल्लामा विपदबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् । 

विपद्मा परेर कूल १ सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने १ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । 

मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिरोका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।  





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १०:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया