वकिलसँग इमरान खानको आग्रह : मलाई कारागारमुक्त गर्नुहोस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । 

साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक शहरको औपनिवेशिक युगको जेलमा राखिएको छ ।

‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए । गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ । 

गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमाथि २ सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो । 

‘अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौँ । मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उहाँलाई राखिएको छ । अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी–क्लासको जेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एक मात्र गद्दा दिइएको छ,’ ७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न मागसमेत गरिएको उल्लेख गर्दै युसुफजाईले सञ्चारकर्मीहरूलाई भनेका छन् । 

झिँगा र कीराले विद्रप पारेको कालकोठारीमा नेता खानलाई कोचेको वकिलहरूको भनाइ छ । त्यस्तो वातावरणमा बसेका उनले दासत्व नस्वीकार्ने प्रण पनि गरेका छन् । 



यद्यपि उनले सजाय भोग्ने तर घुँडा नटेक्ने बताएका छन् । प्रतिकूल परिस्थितिका बाबजुद नेता खान हतोत्साही नभएको वकिलहरूले बताएका छन् ।  



  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १२:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया