ट्रान्समिटर पड्किँदा १६ दिनदेखि अध्याँरोमा जगतपुर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ । 

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौं परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए । 

‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन’, उनले भने, ‘१६ दिन बित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।’

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृद्धवृद्धालाई भएको छ । ‘मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्’, स्थानीय समिरा चौधरीले भनिन्, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।’

जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए ।  स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरू उज्यालोका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन् । 

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा ३ लाख ५० हजार रुपैयाँ मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए । 



‘हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।’ रासस 



  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार ९:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया