सदनको अवरोध खुलाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले भने, ‘म  सदन खुलाउन भूमिका खेल्छु  । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलमा सुन बरामद गरेको थियो । साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगातार संघीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन । सरकारले भने सरकारी निकाय र अङ्गले नै निष्पक्ष छानबिन गर्ने बताउँदै आएको छ । 

आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण लगाएका थिए  । ‘माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन’, सभामुख घिमिरेले भने, ‘आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’

सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरे । उनले भने, ‘सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर परिणाम निस्किन सकेन । शीर्षनेताहरू घन्टौँ बस्दा पनि सहमति भएन ।’ 





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार ११:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया