logo-img

जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैन : अध्यक्ष लोहनी
भेषराज लोहनी, अध्यक्ष / नेपाल जग्गा तथा आवास विकास महासंघ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताकाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन् । उनले घर जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घर जग्गा कारोबारमा भने सहजता आउने बताए । 

उनले भने, ‘अर्थशास्त्री, नीति निर्माताका क्षेत्रका व्यक्तिहरूले कित्ताकाट रोकेको अवस्थामा अर्थतन्त्र चलायमान हुनबाट वञ्चित भयो । त्यसले गर्दा अर्थतन्त्र चलायमान बनाउन कित्ताकाट खोल्नुपर्छ भन्नुभयो । यसले गर्दा वर्षौँदेखि घर जग्गा खरिद बिक्री रोकिएको थियो । यो सम्पूर्ण व्यवसायी र सर्वसाधारणका लागि खुला गरेको अवस्था छ । यो स्वागतयोग्य छ ।’

अध्यक्ष लोहनीले जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ‘ओभर कन्फिडेन्स’ हुने उल्लेख गरे । उनले मुलुकको वर्तमान अर्थतन्त्र चलायमान जग्गाको कित्ताकाट खोलेर मात्रै नभएर अर्थतन्त्रका अन्य परिसूचकहरू पनि सुधार हुन आवश्यक रहेको बताए । अर्थविद् तथा अर्थशास्त्रीहरूले घर जग्गा कारोबारमा जग्गा कित्ताकाट खोल्दा मात्रै अर्थतन्त्र चलायमान बनाउन सकिने तर्क गरेको भन्दै उनले सरकारले मनन गरेर खुला गरेको बताए ।

‘कित्ताकाट खोल्दैमा सबै कुराहरू खुल्छ भनेर भन्यौँ भने यो ओभर कन्फिडेन्स हुन्छ । त्यस्तो होइन । जग्गा कित्ताकाटले केही हदसम्म खोल्छ तर अन्य आर्थिक परिसूचकहरू पनि सुधार हुँदै जान जरुरी छ । हाम्रो देशको घर जग्गाको कारोबार औपचारिक भन्दा अनौपचारिक क्षेत्रबाट काम भइरहेको छ,’ उनले भने, ‘हामीले भन्दा दुई देखि ३ प्रतिशत औपचारिक प्रणालीबाट र करिब ९७ प्रतिशत अनौपचारिक प्रणालीबाट कारोबार भइरहेको छ । यो देशको लागि राम्रो होइन । घर जग्गा कारोबारलाई संस्थागत कारोबारमा ल्याउनुपर्छ ।’

अध्यक्ष लोहनीले अर्थतन्त्र चलायमान बनाउन घर जग्गा कारोबारको महत्त्वपूर्ण भूमिका भए पनि सम्पूर्ण अर्थतन्त्रका सूचकहरू जग्गा कित्ताकाट खुल्दैमा चलायमान बन्ने आधार नभएको बताए । उनले नेपालमा जग्गाको कारोबार औपचारिक भन्दा अनौपचारिक क्षेत्रबाट बढी कारोबार हुने गरेको उल्लेख गरे । 



उहाँले दुईदेखि ३ प्रतिशत औपचारिक र करिब ९७ प्रतिशत घर जग्गा कारोबार अनौपचारिक प्रणालीबाट भइरहेको दाबी गरे । उनले सरकारले नीति बनाएर घर जग्गा कारोबारलाई संस्थागत कारोबारमा ल्याउन आवश्यक रहेको बताए । लोहनीले सरकारले २०७९/०८० को बजेटमा पनि घरजग्गा कारोबार अनुमति प्राप्त कम्पनीहरूबाट मात्र कारोबारको व्यवस्था गर्ने भने पनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको गुनासो गरे । 



उनले  सरकारले घरजग्गा सम्बन्धी ऐन नियम बनाएर अनुमति प्राप्त कम्पनीहरूलाई मात्र कारोबार गर्ने पाउने र ब्रोकरहरूलाई लाइसेन्स सिस्टम गराउन जरुरी रहेको उल्लेख गरे । उनले घरजग्गा कारोबारबाट राज्यलाई गत आर्थिक वर्षमा मात्रै ७१ अर्ब योगदान पुर्‍याएको बताए । लोहनीले घरजग्गा कारोबारलाई पारदर्शी बनाउन सके वार्षिक रूपमा एक सय अर्ब रुपैयाँ भन्दा बढी राजश्व संकलन गर्न सकिने बताए ।

उहाँले भन्नुभयो,‘सरकारले सबैभन्दा पहिला भूमि सम्बन्धी ऐन र  नियमावली ल्याएर मात्रै सम्पूर्ण जग्गाको वर्गीकरण गरिसकेपछि मात्र यो काम गर्नुपर्छ भनेका थियौँ । सरकारले ६ वर्ष समय खेर फाल्यो । त्यसपछि ढिलै भए पनि सरकारले २०८१ साउन सम्मको  लागि लगभग पुरानै अवस्थामा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । त्यसमा केही संशोधनहरू छन् । 

अध्यक्ष लोहनीले सरकारले भूमि सम्बन्धी ऐन र  नियमावली ल्याएर मात्रै सम्पूर्ण जग्गाको वर्गीकरण गर्ने विषयमा ६ वर्ष समय खेर फालेको बताए । उनले ढिलै भए पनि सरकारले २०८१ साउन सम्मको  लागि लगभग पुरानै अवस्थामा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको बताए । उनले चालू पुँजी कर्जा सम्बन्धी निर्देशिकाको कारण धेरै व्यवसायहरू कर्जा लिने भन्दा पनि आफ्नो कर्जा घटाउनेतर्फ गएको बताए । 

उनले रियल स्टेट व्यवसायीले जम्मा क्रेडिटको २५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरिएको बताए । अध्यक्ष लोहनीले रियल स्टेट व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट करिब साढे ५ खर्ब मात्रै उसले कर्जा लिएको उल्लेख गरे । उनले साढे ७ खर्बदेखि आठ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन सक्ने अवस्था रहेको बताए ।  

  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार १२:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया