logo-img

मेडिकल शिक्षामा सिट संख्या सीमित हुँदा बिदेसिँदै नेपाली विद्यार्थी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सरकारले शिक्षामा छात्रवृत्तिसहित एक खर्बभन्दा बढी बजेट छुट्याउँदै आएको छ । यो वर्ष पनि शिक्षालाई प्राथमिकतामा राखेर एक खर्ब ९६ अर्ब दुई करोड बजेट विनियोजन गरिएको  छ । 

तर, सरकारको शिक्षा क्षेत्रमा लगानी बालुवामा पानी खन्याएसरह हुँदै गइरहेको छ । कारण, नेपाली विद्यार्थीको रोजाइ अन्य देश भइरहेको छ । नेपाली विद्यार्थीको विदेश पलायनलाई रोक्न सरकारले कुनै ठोस कदम चालेको देखिँदैन । सरकारको काम एकातिर, विद्यार्थीको उद्देश्य अर्कोतिर हुँदा सरकार र विद्यार्थीबीच बेमेल देखिन्छ । 

नेपाली विद्यार्थी विदेश जाने शिक्षा क्षेत्रका विभिन्न विधामध्ये मेडिकल शिक्षा पनि एक हो । पछिल्लो समय मेडिकल शिक्षाका लागि बिदेसिने विद्यार्थीको संख्या पनि बर्सेनि बढ्दै गइरहेको छ । 

चिकित्सा शिक्षा आयोगका अनुसार विगत तीन वर्षयता नौ सय ६९ जना स्नातकमा डाक्टर पढ्न विदेश गएका छन् । त्यस्तै, स्नातकोत्तर तहमा डाक्टरी गर्न एक सय ६३ विदेशी विद्यार्थी नेपाल आउँदा चार सय २८ जना बाहिरिएका छन् । छात्रवृत्तिमा २७ विद्यार्थी बाहिरिँदा ११ जना भित्रिएको आयोगको तथ्यांक छ । 

कुन वर्षमा कति विद्यार्थी बाहिरिए ?

आयोगका अनुसार ०७९ (वैशाख–चैतसम्म) मेडिकल शिक्षामा स्नातक तहमा (एमबिबिएस, नर्सिङ, बिफार्म, बिडिएसलगायतमा) अध्ययनका लागि आठ सय ७८ विद्यार्थी बाहिरिएका छन् । 



०७९ मै स्नाकोत्तर तहमा दुई सय ८९ जना (एमडी, एमएस, एमडिएस पढ्न) विद्यार्थी बाहिरिए । यो संख्या ०७८ को भन्दा दोब्बर हो । ०७९ मा फेलोसिप कार्यक्रममा ११ विद्यार्थी विदेश गएका छन् । ०७९ मा मात्रै ११ सय ६८ विद्यार्थी विदेश गएको आयोगको तथ्यांकले देखाउँछ ।

०७८ (वैशाख–चैतसम्म)मा स्नातक तहमा चार सय २५ जना विद्यार्थी मेडिकल शिक्षाका निम्ति बाहिरिएका थिए । स्नातकोत्तर तहको मेडिकल शिक्षाका लागि दुई सय ८३ जना विदेश गएका थिए । सो वर्ष फेलोसिप कार्यक्रमअन्तर्गत नौजना विदेश गएका थिए । 



चालू आर्थिक वर्षमा पनि मेडिकल शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दो छ । वैशाखयता स्नातक तहका २८ र स्नातकोत्तर तहका १२ गरी ४० जना मेडिकल शिक्षाका विद्यार्थी विदेश गएको आयोगले जनाएको छ । यही शैक्षिक सत्रमा सात सय स्नातक र २ सय ६६ ले मेडिकलमा स्नातकोत्तर गर्न विदेश जान नेपाली विद्यार्थीले अनुमति लिएको आयोगको भनाइ छ । 

नेपालमा मेडिकल शिक्षा पढ्न सीमित कोटा भएका कारणले नेपाली विद्यार्थी विदेश जाने गरेको आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जानकारी दिए । मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थीको मुख्य गन्तव्यका देश बंगलादेश, चीन, पाकिस्तान र फिलिपिन्स रहेका छन् । 

‘मेडिकल शिक्षामा पहिलो प्राथमिकता विद्यार्थीले नेपाललाई नै दिएका हुन्छन् । तर, सीमित सिट संख्याका कारणले बाहिर जान बाध्य छन् । विद्यार्थी विदेश जानुको अर्को कारण छात्रवृत्ति पाउनु पनि हो,’ प्रा.डा. उपाध्यक्षले भने । 

उनका अनुसार पछिल्लो समय तीन वर्षको तथ्यांक हेर्दा नेपालमा मेडिकल शिक्षा पढ्न आउने विदेशी विद्यार्थी बढेका छन् । उनी भन्छन्, ‘पहिलो वर्षमा करिब ५० जना आएका थिए भने दोस्रो वर्ष एक सय ५० जना र हाल करिब चार सय ५० जना आएका छन्,’ उनले भने । 

आयोगका अनुसार चालू शैक्षिक सत्रमा मात्रै स्नातक तहमा ४ सय ६ र १५ जना स्नातकोत्तर तहमा विदेशी विद्यार्थी भर्ना भएका छन् । यस्तै. स्नातक नर्सिङ पढ्न ९१ जना विदेशी विद्यार्थी नेपाल आएका छन् । नेपालमा मेडिकल शिक्षा पढ्न आउने विद्यार्थी भने सबैभन्दा धेरै भारतका रहेका छन् । 

श्रीलंका, माल्दिभ्स, भुटान, अफगानस्तान, जापानलगायत मुलुकबाट पनि केही विद्यार्थी आउने गरेको आयोगले जनाएको छ । आयोगका अनुसार नेपालमा सञ्चालित मेडिकल कलेजमा तीन वर्षयता एक हजार एक सय ६७ विदेशी विद्यार्थी भर्ना भएका छन् ।

नेपालका मेडिकल कलेजमा किन घट्दै छन् विद्यार्थी ?

चिकित्सा शिक्षा ऐनले साढे पाँच सयभन्दा बढी विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा एमबिबिएसमा भर्ना हुन नपाउने व्यवस्था गरेको छ । कोरोनाकालमा संख्या घटे पनि क्रमशः बढ्दै गएको आयोगले जनाएको छ । 

यहाँको शिक्षण संस्थामा अध्ययन गर्न आयोगले लिने एकीकृत प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्थाका कारण पनि विद्यार्थी घटेको मेडिकल कलेज सञ्चालकहरूको भनाइ छ । ऐन जारी हुनुअघि मेडिकल कलेजहरूले सयौँ विदेशीलाई सीधै भर्ना लिने गर्दथे ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान काठमाडौं, पोखरास्थित मणिपाल मेडिकल कलेज, भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज र नेपालगन्जको जानकी मेडिकल कलेजमा भारतीय विद्यार्थीको आकर्षण रहने गरेको थियो । तर, ऐन जारी भएपछि विद्यार्थी संख्या घटेको सरोकारवालाको भनाइ छ ।

ऐनले निजी मेडिकल कलेजले कुल सिट संख्याको ५० र सार्वजनिक शिक्षण संस्थाले एकतिहाइ विदेशी विद्यार्थी भर्ना हुन पाउने व्यवस्था गरेको छ । मेडिकल शिक्षाको स्नातक तहको २१ विषयमा एउटै शैक्षिक सत्रमा दुई हजारभन्दा बढी विदेशी विद्यार्थी भर्ना हुन पाउँछन् । तर, एमबिबिएस, बिडिएस र फार्मेसीबाहेक अधिकांश विषयमा विदेशी विद्यार्थीले प्रवेश परीक्षाको आवेदन नै दिँदैनन् ।

चिकित्सा शिक्षा अध्ययन विदेशको दाँजोमा नेपालमै सस्तो भएको उपाध्यक्ष प्रा.डा. गिरी बताउँछन् । ‘हाल नेपालका सरकारी विश्वविद्यालयमै मेडिकल शिक्षा अध्ययन सहज भइरहेकाले अब बिदेसिने विद्यार्थीको संख्या कम हुँदै जानेछ भन्ने आशा छ,’ उनले भने ।  

काठमाडौं उपत्यकाभित्र एमबिबिएस पढ्न ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ । यस्तै, उपत्यकाबाहिर एमबिबिएस पढ्न ४५ लाख ९५ हजार सात सय २० रुपैयाँ तोकिएको आयोगले जनाएको छ ।

नेपालका विश्वविद्यालयमा विद्यार्थीको आकर्षण नहुनुको मुख्य कारण यहाँको शैक्षिक क्यालेन्डर व्यवस्थित नहुनु पनि रहेको प्रा.डा. गिरीको भनाइ छ ।  

  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १९:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया