विश्वकप छनोट
मलेसियाको तेस्रो विकेट पतन, रुबिनालाई पहिलो सफलता
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी महिला टी–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता कप्तान रुबिना क्षेत्रीले दिलाएकी हुन् । 

उनले १०औँ ओभरको अन्तिम बलमा मास एलिसालाई विकेटकिपरको हातबाट क्याच आउट गराइन् । यस्तै, मलेसियाको पहिलो र दोस्रो विकेटक्रमशः कविता कुँवर र अश्मिना कर्माचार्यले लिए । 

 यो समाचार तयार पार्दासम्म मलेसियाले १२ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको छ । त्यसअघि क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो । 

नेपालका लागि सीता राना मगरले ५४ बलमा एक चौकासहित अविजित ३८ रन बनाइन् । यस्तै, अप्सरी बेगमले १७, कप्तान रुबिना क्षेत्रीले १२, पूजा महतो र कविता जोशीले ५/५ रन बनाए । 

काजल श्रेष्ठ, सम्झना खड्का र इन्दु वर्मा भने शून्यमै आउट भए । मलेसियाका लागि ऐना हामिजाह हाशिमले ४ ओभरमा एक मेडन राख्दै १४ रन दिएर सर्वाधिक २ विकेट लिइन् ।  

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । 



त्यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउने छन् । 



  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार ९:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया