४४ करोडको चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।  

वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म भए पनि विद्युतगृहमा बिजुली बाल्ने तयारी भएको जानकारी दिए ।

चुकेनी आयोजनाको प्रगतिबारे जानकारी लिन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहितको टोली शुक्रबार आयोजनास्थलमा पुगेर अनुगमनसमेत गरेको छ । सो टोलीलाई निर्माणको जिम्मेवारी पाएको फेवा कन्स्ट्रक्सन प्रालि र वैकल्पिक ऊर्जाको टिमले दसैँसम्म पावरहाउसमा बिजुली बाल्ने गरी काम तीव्र गतिमा भइरहेको जानकारी दिएको हो ।

इन्जिनियर थपलियाका अनुसार आयोजनाको जेनेरेसनको काम ८५ प्रतिशत र लाइन विस्तार गर्ने काम गत आर्थिक वर्षको अन्तिमतिर नै सम्पन्न भइसकेको छ । आयोजनाको बिजुली यहाँका गाउँ–गाउँमा पुग्न अझै एक वर्ष जति समय लाग्ने उनको भनाइ छ ।

उक्त आयोजनामा वैकल्पिक ऊर्जाको ३१ करोड रुपैयाँ लगानी छ भने गाउँपालिका र स्थानीय जनताको १३ करोड रुपैयाँ लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपूर्जा धरौटीमा राखेर ६ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको चुकेनीखोला सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए ।



सो अवसरमा प्रदेशसभा सदस्य शाहीले चुकेनी जलविद्युत्ले जिल्लाको विद्युत् सेवामा निकै महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यसैबीच जिल्लामा प्रसारण लाइन पुगे पनि स्थानीयवासीलाई राम्रोसँग सेवा प्रवाह दिन सकिएको छैन । 

चुकेनी जलविद्युतलाई थप स्तरवृद्धि गर्नका लागि प्रदेश सकारसँग बजेटको माग गरिने भएको छ । चुकेनीखोलाको बिजुली छिटोभन्दा छिटो उत्पादन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराको भनाइ छ ।



९ सय ९८ किलोवाट क्षमता रहेको आयोजनाबाट बिजुली उत्पादन हुने पातारासी गाउँपालिकाले जनाएको छ । १० जेठ २०७६ मा सम्झौता भई आयोजनाको काम अगाडि बढेको थियो । १८ महिनाभित्र सकिने आयोजनाको काम कोरोना र अन्य कारणले चार वर्ष पार गरिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । रासस 

  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार ७:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया