logo-img

नवनियुक्त कार्यकारी निर्देशक पौडेलको दाबी : क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताए ।

रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासा आउने गरेका छन् । पौडेलले भने, ‘अहिले दुई हप्ताभन्दा बढी रेडियो थेरापीमा पालो छैन । कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नु होस् म यसलाई न्यूनीकरण गर्नेछु ।’ उनले अहिले कुर्नु परेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिने गरी काम गर्ने बताए ।
 
अस्पतालमा सिटी, एमआरआइलगायतको सेवामा केही जनशक्ति अभावका कारण ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले छिट्टै जनशक्तिको व्यवस्थापन गरेर पालो कुर्नु नपर्ने बनाइने बताए । कार्यकारी निर्देशक पौडेलले भने, ‘आएकै दिन सिटीस्क्यान गरेर भोलिपल्ट रिपोर्ट दिने बनाउनका लागि अगाडि बढेको छु ।’
 
बिरामी अस्पतालमा छिर्दै गर्दा प्रवेशद्वारबाट नै सुधार गर्नुपर्छ भनेर बडापत्र, बिरामीलाई सूचना दिन सूचना पार्टी, बिरामीका गुनासा सुन्न छ सुझाव पेटिकाको व्यवस्था गरिसकेको उनले बताए । ‘सुझाव पेटिकामा अघिल्लो दिन परेका गुनासा भोलिपल्ट नै खोलेर हेर्ने र त्यहाँ के गुनासा छन् तत्काल समाधान गर्ने बाटोतर्फ हामी अघि बढेका छौँ,’ पौडेलले भने ।

विगत चार महिनामा अस्पतालमा नेतृत्व खाली रहँदैगर्दा विधिवत्रुपमा दैनिक क्रियाकलापमा केही अप्ठेरो परेको भन्दै कार्यकारी निर्देशक पौडेलले नेतृत्व चयन भएसँगै औषधि, उपकरणलगायतका बोलपत्र आह्वान गरेर काम अगाडि बढाइएको जानकारी दिए ।
 
क्यान्सर अस्पताललाई सुधार गर्नकै लागि आफू नेतृत्वमा आएको भन्दै उनले भने, ‘सुरुमा म क्यान्सर अस्पताललाई अपडेट गर्छु, स्वास्थ्य सेवाका पाटालाई विशेष प्राथमिकता दिएर भएका न्यूनतम गुणस्तर पूर्ण भइसकेपछि अस्पताललाई स्तरोन्नति गर्नेतर्फ लाग्छु ।’ 

पेट स्क्यान मेसिन खरिदको प्रक्रिया यसै वर्ष हुने उनको भनाइ छ । ‘यहाँ आएका बिरामीको उपचार सहज, सुलभ हुनुपर्छ, अस्पतालभित्रै हुनुपर्छ भन्ने उद्देश्य हो,’ पौडेलले भने । आफू निजी अस्पतालमा काम नगर्ने भएकाले अधिकांश समय अस्पतालको विकासमा जुट्ने उनले बताए ।

चार महिनापछि अस्पतालले कार्यकारी निर्देशक पाएको हो । लामो समय कार्यकारी पद खाली हुँदा अस्पतालका सेवा प्रभावित भएका थिए । रासस 





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार ९:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया