logo-img

नेपालमा कृषक परिवार ६२ प्रतिशत मात्रै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कृषि गणना ०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । बिहीबार सार्वजनिक गरिएको सातौँ कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा नौ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो । 

अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । त्यस्तै, कृषि गणना ०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । अघिल्लो कृषि गणना ०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको उनले बताए । 

पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको उनले जानकारी दिए । कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

राष्ट्रिय कृषि गणना ०७८ को नतिजअनुसार नेपालमा राँगा र भैँसीको कुल संख्या २९ लाख २३ हजार छ । ०६८ को गणनामा भैँसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैँसीको संख्या २ लाख ५१ हजारले घटेको हो । राँगा र भैँसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आए पनि उन्नत राँगा भैँसी भने १२ प्रतिशतले बढ्न गएको उनले उल्लेख गरे । 

०६८ सालमा राँगा र भैँसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या २ लाख ५२ हजारले घटेर १४ लाख १७ हजारमा सीमित भएको हो । ६३ लाख रहेका गाईगोरु पनि पछिल्लो १० वर्षमा घटेर ४६ लाख पुगेको छ । 

पछिल्लो १० वर्षमा गाई गोरु,राँगा र भैँसी घटे पनि बाख्रा र च्यांग्रा भने १ करोड १० लाखबाट बढेर १ करोड ४२ लाख पुगेको छ । सुँगुर र बँगुर पनि आठ लाखबाट बढेर १४ लाख पुगेको छ । गाईको संख्या घटे पनि उन्नत गाईको संख्या भने ४२ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । 



त्यस्तै, कृषकहरुले उत्पादन गरेको ७० प्रतिशत वस्तु घरपरिवारमा नै खपत गर्नुपरेको छ । कृषि उत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेको उनले उल्लेख गरे । नेपालमा उत्पादन गरेको सबै वस्तु बेच्ने किसान १ प्रतिशत मात्रै छन् । कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने कृषक परिवार ४५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

कृषि गणना ०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरु ०६८ मा २२ प्रतिशत थिए । कृषि गणना ०७८ अनुसार कृषि ऋणमा कृषकले चासो नदेखाएको देखिएको छ । कृषि बिमा गर्ने कृषक ४ प्रतिशत मात्रै रहेको उनले बताए । 



कार्कीले सरकारी अनुदानमा लिने कृषकहरुको संख्या ७ प्रतिशत मात्रै रहेको र ९३ प्रतिशत किसान सरकारी अनुदानबारे बेखबर रहेको बताए । कृषिगणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ । ०७८ को कृषिगणना अनुसार मुख्य कृषक महिला ३२ प्रतिशत रहेको छ । 

कार्कीले कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको बताए । कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ । तर, अघिल्लो कृषिगणना ०६८ मा सिँचाइ सुविधा उपयोग भएको गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।

नेपालका करिव ४० लाख परिवार खेतीपातीमा आबद्ध भएको पाइएको छ । कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपक्षी पालन गरेको पाइएको छ । छैटौँ गणना ०६८ मा ३७ लाख १६ हजार परिवारले खेतीपाती गरेको र एक लाख १६ हजारले पशुपक्षी मात्रै पालेका थिए । अहिले यो परिवार संख्या बढेको पाइएको छ । 

राष्ट्रिय कृषि गणना ०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ । हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । 

तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ । अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषिगणनाले देखाएको छ । कृषि गणना ०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भए पनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ । कृषिगणना ०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको संख्या दोब्बर भएको देखाएको छ । 

कृषि गणना ०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना ०७८ ले यो संख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो । पछिल्लो १० वर्षको अवधिमा ४ लखा ७१ हजार २६० कृषक परिवारले कृषि कार्यका लागि पावर ट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९९१ वटा पावर ट्रिलर सञ्चालनमा रहेको देखिन्छ । 

०६८ र ०७८ दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखनीय रूपमा गिरावट आएको छ ।

  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार २१:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया