१० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, भोलिसम्म बोलपत्र पेस गर्ने समय

नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको शुक्रबार एक सूचनामार्फत जनाएको हो ।​

बोलकबोल प्रक्रियाबाट बिक्रीहुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, गैरबैङ्क वित्तीय संस्था, सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनसक्ने बताइएको छ ।  

ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले प्रतिस्पर्धा र बिना प्रतिस्पर्धा पनि सहभागी हुन सक्ने छन् । तर, राष्ट्र बैंकले प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । बिनाप्रतिस्पर्धा किन्न चाहनेका लागि भने १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ । 

खरिदकर्ताले ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाउने व्यवस्था छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत मात्र हुन्छ । 

इच्छुक लगानीकर्ताले भदौ २४ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।  

ऋणपत्रमा न्यूनतम् ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । 



ऋणपत्र भदौ २५ गते सोमबार निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।
 



  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार ८:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया