logo-img

अलैँची किसानले पाए दोब्बर मूल्य, प्रतिमन ६० हजारसम्ममा बिक्री

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गत वर्षभन्दा यस वर्ष अलैँचीले बढी मूल्य पाएको छ । नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै अलैँची गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । 

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारी बताउँछन् ।   

अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्षसमेत रहेका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५५ हजारदेखि ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको बताए । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ हजारदेखि २७ हजार रुपैयाँ मात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए ।   

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजार रुपैयाँमा कारोबार भएको उनले जानकारी दिए । ‘अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो’, अधिकारीले भने ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी संघका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने संघका अध्यक्ष रेग्मीको भनाइ छ । 

यस वर्ष अलैँची उत्पादनमा भने गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झन्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् । फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा  रोगले अलैँची नष्ट हुँदा उत्पादनमा ह्रास आउने किसान बताउँछन् ।



त्यस्तै, गत असार–साउनमा गएको बाढीपहिरोले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुडाक्षेत्रीले बताए । यस वर्ष २५ देखि ३० प्रतिशतसम्म उत्पादन घट्नसक्ने उनको अनुमान छ । 

सुक्खा मौसम (खडेरी), रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादन घट्ने देखिन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीखेती करिब ४ हजार ५ सय हेक्टरमा लगाइएको छ । जिल्लामा वार्षिक २ हजार ५ सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको तथ्यांक छ । रासस 



  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार ८:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया