कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषी देखिनेलाई कारबाही हुन्छ : मन्त्री बस्नेत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषीउपर कारबाही हुने बताएका छन् ।  

इजिप्टको राजधानी कायरोमा सम्पन्न भएको एक सम्मेलनमा भाग लिएर आइतबार काठमाडौं आइपुगेका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीसँग घटनाको छानबिन गर्न छानबिन समिति गठन भएको र गल्ती गर्नेलाई कारबाही गरिने स्पष्ट पारेका हुन् ।

‘कान्ति बाल अस्पतालमा भएको घटनाको बारेमा पैसाको अभावमा भन्नेकुरा मैले सुनेको छैन । केही समय पहिला उपचार गर्नुपर्ने भीडभाड र बिरामीको लाइनले गर्दा त्यो समयमा भएन त्यसले गर्दा मृत्यु भयो भन्ने मैले विदेशमा भएपछि पनि त्यो खबर सुनेको थिएँ,’ मन्त्री बस्नेतले भने, ‘त्यो खबर सुन्नेबित्तिकै सचिवज्यू डा. रोशन पोखरेललाई मैले सम्पर्क गरेँ । छानबिन समिति बनाउने प्रक्रिया अगाडि बढेको छ तुरुन्तै भन्नुभएको थियो । बनेको होला । केही त्यहाँ जानाजानी त्यस्ता गल्तीहरू केही भएको रहेछ भने कारबाही हुन्छ ।’

उनले इजिप्टमा भएको कार्यक्रममा बसाइँसराई र अव्यवस्थित बसोबासका दृष्टिले स्वास्थ्य क्षेत्रमा परेका समस्याको बारेमा छलफल भएको बताए । जनसंख्या र स्वास्थ्य सेवालाई सँगसँगै लिएर जान सकिएन भने विकास पनि सम्भव छैन भन्ने विषयमा छलफल भएको उनको भनाइ छ ।  

कार्यक्रममा विभिन्न देशका स्वास्थ्यमन्त्री तथा विभिन्न दातृ संस्था र निकायका प्रतिनिधि सम्मिलित रहेको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १३:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया