logo-img

‘गैरहिन्दू’को बिल्लाबाट बल्ल मुक्त भए सुवास

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गत मंगलबार निधन भएका एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई सधैँ एउटा आरोप लाग्ने गरेको थियो, उनी गैरहिन्दू हुन् । आरोप लगाउनेहरुले उनी मात्रै होइन, उनकी श्रीमती पनि क्रिश्चियन हुन् भनेर आरोप लगाउने गर्थे । मंगलबार निधन भए पनि उनको दुई दिनपछि बिहीबार अन्त्येष्टि गरियो, त्यसको कारण थियो, हिन्दू परम्पराअनुसार गरिने दाहसंस्कारका लागि दागबत्ती दिने दुवै छोराहरू विदेशमा हुनु । 

नेम्वाङलाई गैरहिन्दूको आरोप लाग्नुको मुख्य कारण हो, २०६३ जेठ ४ गते नेपाललाई ‘हिन्दू राष्ट्र’बाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्र्नेबेलाको अन्तरिम संसदको सभामुखको जिम्मेवारीमा हुनु । अर्थात्, ‘नेपाल अब धर्मनिरपेक्ष राष्ट्र हुनेछ’ भन्ने घोषणा सुवास नेम्वाङकै मुखबाट पहिलोपटक उच्चारण भएको थियो । 

संयोगवश सो घोषणा गर्नेबेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बिरामी भएका कारण पनि सो घोषणा नेम्वाङले गरेका थिए । तत्कालीन मन्त्रिपरिषदले पारित गरेको घोषणा प्रधानमन्त्री कोइरालाले प्रतिनिधिसभामा टेबुल गरे । उनले स्वास्थ्यका कारण त्यो घोषणा पूरै पढ्न नसक्ने भएपछि सभामुख नेम्वाङलाई पढ्न दिएका थिए । 

यस्तै आरोपका सम्बन्धमा नेम्वाङले भनेका थिए, मलाई आरोप लगाउनेमध्ये कतिपयले क्रिश्चियन धर्म मान्छ र विदेशीबाट पैसा खाएर धर्मनिरपेक्ष घोषणा गरायो पनि भनेका छन् । म प्रस्ट पार्न चाहन्छु, मेरो टोपी खोलेर हेर्नुभयो भने सधैँभरि निधारमा रातो टीका हुन्छ । म हिन्दू र किराँत धर्म मान्छु ।



हिन्दू अधिराज्यको ठाउँमा धर्मनिरपेक्ष भन्ने शब्द सुवास नेम्वाङले घोषणामा हालेको भन्ने आरोप बेलाबेलामा लाग्ने गरेको भन्दै उनले त्यसबारे पनि बारम्बार स्पष्टीकरण दिनुपरेको थियो । एमालेले २०४७ सालको संविधानमै धर्मनिरपेक्ष राख्नुपर्छ भनेर २६ बुँदे प्रस्तावमा लेखेको उनले बताउँदै आएका थिए । प्रतिनिधिसभाको सो घोषणामा ‘धर्म निरपेक्ष’ दलहरुले सहमति भएर राखेको त्यसमा आफ्नो व्यक्तिगत कुनै अतिरिक्त योगदान नरहेको बताएका थिए । 

आफ्नो घरभित्र हिन्दू देवी देवताको मन्दिर र मूर्ति रहेको र श्रीमतीले सधैँ घरमा हिन्दू देवी देवताको पूजा गरेर मात्र आफूलाई बाहिर पठाउने गरेको पनि उनले सुनाएका थिए । आफू भौतिकवादी भए पनि श्रीमतीसँग उनको आस्थाप्रति सम्मान गर्ने समझदारी रहेको उनले सुनाएका थिए । 



त्यसो त उनले औपचारिक रुपमा कहीँ लेख्नुपर्दा पनि आफ्नो धर्मको कोलममा ‘किराँत धर्म’ लेख्ने गरेका थिए । बाजे, बराजुदेखि नै किराँत धर्म लेख्ने गरेको र आफूहरु फाल्गुनन्दका अनुयायी भएको उनले बताउने गरेका थिए । माधव नेपाल प्रधानमन्त्री भएका बेला आफैँले पहल गरेर फाल्गुनन्दलाई ‘महागुरु’ उपाधि दिलाएको बताएका थिए । 

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय पनि आफनै पहलमा भएको उनले बताएका थिए । यस हिसाबले आफू औपचारिक रुपमा हिन्दू र किराँत धर्म मान्ने मान्छे भएको तर राज्यको धर्म हुनुहुँदैन भन्नेमा म प्रस्ट रहेको बताउने गर्थे । 

छोराहरू विदेशबाट फर्किएपछि नेम्वाङको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो । छोराहरु र श्रीमतीले दागबत्ती दिएर हिन्दूपरम्पराअनुसार नै अन्तिम संस्कार गरियो । अहिले उनका छोराहरू हिन्दू परम्पराअनुसार काजकिरिया कर्ममा बसेका छन् । आफ्नो जीवनकालभरि गैरहिन्दूको आरोप खेपेका नेम्वाङ निधनपछि बल्ल गैरहिन्दूको बिल्लाबाट मुक्त भएका छन् । स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली !

  • प्रकाशित मिति : भदौ ३०, २०८० शनिबार २१:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया