फेरि संसद अवरोध गर्ने एमालेको तयारी : सुन प्रकरण छानबिनको माग गर्दै खबरदारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सुन प्रकरणको छानबिनको माग गर्दै लामो समय प्रतिनिधिसभा बैठक अवरोध गरेको नेकपा एमालेले फेरि संसद अवरोध गर्ने संकेत गरेको छ । गत साउन १० गतेदेखि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारको बाटो भएर पटक पटक भएका सुन तस्करीको विषयमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले लगातार संसद् अवरोध गरेपछि सरकार सो मागमा सहमत भएको थियो । 

गत भदौ ६ गते प्रधानमन्त्री सहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता गठबन्धन दलका प्रतिनिधिबीच असोज ५ गतेभित्र छानबिन आयोग गठन गर्ने सहमतिपछि एमालेले लामो समयको संसद अवरोध गरेको थियो । 

सहमतिअनुसार आयोग गठन गर्ने समयसीमा सकिएको एक साताभन्दा बढी बितिसक्दा पनि सो आयोग गठन नभएपछि एमालेले फेरि सदन आन्दोलनको तयारी गरेको हो । 

आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । भोलिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट आएको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।  



भोलिको कार्यसूचीमा सुन प्रकरणको छानबिनका लागि आयोग बनाउने विषय नपरेपछि एमाले पुनः ‘एक्सन’मा उत्रिन लागेको हो । यसको संकेत एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमार्फ पनि दिएका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमा सचेतक बर्तौलाले लेखेका छन्– ‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दै छ ।’ 



 ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन,’ उनले भोलि संसद अवरोध गर्ने संकेत गर्दै भनेका छन्, ‘बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षीमाथि  मिथ्या भ्रम छर्न दिउँसै रात पार्ने प्रपंच चलिरह्यो।’

‘असोज ५ पछि  धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो,’ उनले भनेका छन्, ‘सरकारले दिएको धोकाको सावाँ र ब्याजसहितको समग्र हिसाबकिताब त भोलि बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा शून्य र विशेष समय बाहेक सरकारको बिजनेस रहेको कार्यसूची प्रवेश गर्न नदिने एमालेले तयारी गरेको छ । 

सचेतक बर्तौलाकै संकेतसँग मेल खाने गरी नेकपा (एमाले)का प्रभावशाली नेता महेश बस्नेतले  पनि सरकारसँग भोलिको सदनमा हिसाब–किताब खोज्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फिलिपिन्सकी महिलाले अवैध तरिकाले ल्याएको तीन किलो सुन बरामद गरिएछ । दैनिक सुन तष्करी भैरहेको छ । सरकार जाँचबुझ आयोग बनाउने एमालेसँगको सम्झौताबाट भाग्दैछ । भोली सदनमा यसको हिसाब–किताब हुनेनै छ ।’

शुक्रबार फिलिपिन्सकी महिलाले अवैध तरिकाले ल्याएको तीन किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेला परेको थियो । सोही प्रसंग उल्लेख गर्दै उनले सरकार आयोग बनाउने सम्झौताबाट पछि हटेकाले भोलिको संसद् बैठकमा एमालेले यसको हिसाब– किताब खोज्ने बताएका हुन् ।

आइतबारको बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठनको कुरालाई प्रमुखताका साथ उठाउने भएको छ । अबको संसद् बैठक पूर्णरुपमा अवरोध नगरी सरकारका कार्यसूचीमा मात्र अवरोध गर्ने एमालेको तयारी रहेको छ । 

  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार १८:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया