logo-img

रवीन्द्रसिंह बानियाँ अर्थात् अनुहार लुकाएर चिनिएका अभिनेता

अभिनेता भनेकै सुन्दरसँगै अभिनय गर्न सकिने व्यक्ति भन्ने बुझिन्छ । केही वर्ष अगाडिसम्म अभिनेता सुन्दर र आकर्षक हुनुपर्छ भन्ने मान्यता थियो । तर, अहिले कलात्मक चलचित्रले ती मान्यतालाई भत्काउन सफल भएको छ । 

यद्यपि अभिनेताको चाहना नै आफूलाई दर्शकले चिनुन् भन्ने हुन्छ । तर केही अभिनेता छन्, जसले चलचित्रमा अनुहार नै देखाएनन् । तथापि दर्शकको प्रिय बन्न सफल भए ।  

मनोज पण्डितले निर्देशन गरेको चलचित्र ‘बधशाला’ मा खगेन्द्र लामिछाने र दीपेन्द्रकुमार खनालले निर्देशक गरेको ‘पशुपति प्रसाद’ मा रवीन्द्रसिंह बानियाँले अनुहार देखाएनन् । आफ्नो अभिनयको क्षमताले दर्शकलाइ खोजिने नाम बनाएका यी दुई अभिनेताको कामको राम्रै चर्चा हुन्छ । 

निर्देशक पण्डितले अभिनेता लामिछानेलाई भनेर नै उक्त भूमिका दिएका थिए । द्वन्द्वकालको बेला सैनिक ब्यारेकभित्र राजनीतिक बन्दीहरूलाई दिइएको यातनामा खेप्ने पात्रको भूमिकामा अभिनेता लामिछाने थिए । उनको काम देखिएता पनि दर्शकले चलचित्र अवधिभर अनुहार देखेनन् । त्यही खुल्दुलीले अभिनेता लामिछानेलाई दर्शक समक्ष परिचित गरायो । अनुहार देखिएका कलाकारझैँ उनी चर्चित भए । 

‘मैले काम देखाउनु थियो । त्यो समयमा अवसर पाउनु है ठूलो कुरा थियो’, अभिनेता लामिछानेले भने, ‘मलाई समाजकै पात्रलाई चलचित्रमा ल्याउने इच्छा पहिलेझैँ छ । म चलचित्रका पात्र दर्शक वा समाजमै रहेको हुनुपर्छ भन्ने मान्यता राख्छु ।’ उनकै लेखन रहेको चलचित्र ‘पशुपति प्रसाद’ मा अभिनेता बानियाँले अनुहारमा रङ्ग र मुकुन्डो लगाएको हनुमानको भूमिका निर्वाह गरे ।   



विस्तारै रङ्गमञ्चबाट चलचित्रमा उदाउँदै गरेका अभिनेता बानियाँको पात्रमार्फत हनुमानको मुकुन्डोलाई प्रतीकात्मकरूपमा प्रयोग गरिएको छ । उनलाई अनुहार देखाउन पाइन भन्ने चिन्ता थिएन ।  

‘त्यो पात्र समाजकै एउटा बिम्ब थियो । जो समाजसँग लुक्न अर्कै पहिचान बनाएर हिँडिरहेको छ । जसको विगतसमेत जानकार छैनन्,’ अभिनेता बानियाँले भने, ‘मैले त्यो पात्रमार्फत बाहिरी आवरणले पाउने माया र घृणालाई नजिकबाट बुझ्ने मौका पाए । म हनुमानको भूमिकामा हुँदा गालीगलौज गर्नेदेखि खुट्टा नै ढोगेर आशीर्वाद लिने पनि थिएँ ।’ 



छायाङ्कनका लागि शृङ्गार गरेर भेषभूषा लगाएपछि उनी दिनभर त्यही पात्रमा पशुपति क्षेत्र घुमघाम गर्थे । ‘जोगीहरूले माया गर्थे, किन यत्रो खर्च गरेर गधा किन्यौँ, पुच्छर किन्यौँ भनेर सम्झाउँथे । यहाँ केही छैन तिमी शहर पस भन्थे । कसैले खुट्टा ढोग्थे । म आफैंलाई हाँसो उठ्थ्यो त्यतिबेला’, बानियाँले भने, ‘मुकुण्डोभित्रको मान्छेलाई बाहिरी आवरणले फरक पारेको थिएन । त्यो कुरा जीवनमा लागू गर्ने प्रयास गरिरहेको छु । त्यो पात्रले विविध पक्षलाई दर्शक समक्ष राखेको थियो ।’

उनले ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा अभिनय गरेका छन् । यसपटक उनलाई चिन्ने धेरै थिए । तर, पनि उक्त भूमिकाले पुनः पुराना दिन स्मरण गराएको बानियाँले बताए । रङ्गमञ्च हुँदै केही चलचित्रमा काम गरेर नपाएको पहिचान उनलाई हनुमानको आवरणले दिएको थियो । त्यसैले अहिले पनि बानियाँको प्रिय पात्रमा ‘हनुमान’ अग्रस्थानमा छ । रासस   

  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार ७:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया