logo-img

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

रूपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । 

२०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गरिएको थियो । तर स्थानीयको अवरोधका कारण औद्योगिक क्षेत्रको घोषणा र आयोजनाको शिलान्यास भएर पनि काम अघि बढ्न सकेको छैन । औद्योगिक क्षेत्र आयोजनाको कामलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारे सोमबार बुटवलमा छलफल गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईंले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरूबाट भएको पहल सकारात्मक भए पनि सङ्घीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताए । 

सरकारले सबै प्रदेशमा आर्थिक विकासको सन्तुलन मिलाउने उद्देश्यका साथ घोषणा गरेको औद्योगिक क्षेत्रमध्ये मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सम्पन्न गरी स्थापनाको सुरुआत भएको हो । 

सरकारले रुपन्देहीका साविक बुटवल नगरपालिका, टिकुलीगढ, अनन्दवन, फार्साटिकर ९हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गतका क्षेत्रलाई मोतिपुर औद्योगिक क्षेत्रका रूपमा घोषणा गरी काम अघि बढाएको थियो । तर, पछिल्लो समय औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने, औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको जग्गामा बसोबास गरेका स्थानीयले बसोबास नछाडेपछि निर्माण रोकिएको छ । 

सरकारले २०७२ साल चैत १ गते यी क्षेत्रमा पर्ने आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गर्दै औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।



छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै लागि बुटवल उपमहानगरपालिकाले पूर्णरूपमा सहयोग गर्ने जानकारी दिए ।

उनले २०२२ सालदेखि बसोबास गरिरहेकाहरूको समस्या समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोन प्रविविधद्वारा जग्गा नापजाँच गरिएको जनाउँदै सोहीअनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताए ।



प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औद्योगिक क्षेत्र निर्माणका लागि सबैको चासो र समन्वयअनुसार अगाडि बढाउनका लागि स्थानीय प्रशासन तयार रहेको बताए । कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतिपुर औद्योगिक क्षेत्रको जानकारीसहितको प्रस्तुति गरेका थिए । 

  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार ७:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया