logo-img

इक्यानसँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शैक्षिक परामर्श संघ ​(इक्यान)सँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । इक्यान र सफ्टेड ग्रुपअन्तर्गतको सनवे कलेजले मंगलबार पत्रकार सम्मेलन गरेर छात्रवृत्ति उपलब्ध गराउने पत्रमा हस्ताक्षर गरेका हुन् ।

इक्यानको स्टडी इन नेपाल अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने सम्झौतापत्रमा इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सफ्टेड ग्रुपका अध्यक्ष श्रेष्ठले इक्यानको ‘स्टडी इन नेपाल’ अभियानले नेपाली विद्यार्थीलाई नेपालमै अध्ययन गर्न हौसला मिल्ने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले नेपाली विद्यार्थीलाई सकेसम्म नेपालमै रहेर अध्ययन गर्न आग्रह गर्दै अबको युवालाई आइटी शिक्षामा जोड्न जरुरी रहेको बताए । नेपाली युवालाई टेक्नोलोजीमा जोड्न सकियो भने त्यसले रोजगारीको ठूलो क्षेत्र सिर्जना गर्ने र नेपालमै पढेर विश्वभर काम गर्न सकिने उनले बताए । 

इक्यानसँगको सहकार्यमा विद्यार्थीलाई सनवे कलेजमा छात्रवृत्ति प्रदान गर्न पाउँदा खुसी लागेको अध्यक्ष श्रेष्ठको भनाइ छ । २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका लागि सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न सम्झौता गरिएको हो । 

सम्झौताअनुसार कलेजले स्नातक तहका विद्यार्थीलाई बिएससी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । यस कोर्सअन्तर्गत Data Science, Artificial Intelligence, Machine Learning, Cybersecurity, Cloud Computing, Programming, Software Engineering, Innovation साथै one year dedicated Professional Placement  पनि संलग्न गरिएको छ ।



सनवे कलेजले २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । आंशिक छात्रवृत्ति पाउने ४८ जनामध्ये १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

पूर्ण छात्रवृत्ति पाउनका लागि प्लसटुमा ३.६० जिपिए ल्याएको हुनुपर्नेछ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लसटुमा ३.५० जिपिए र ३० प्रतिशत छात्रवृत्तिका लागि ३.०० जिपिए ल्याउनुपर्नेछ ।



त्यस्तै, छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले आइइएलटिएसमा कम्तीमा ५.५ स्कोर ल्याएको हुनुपर्ने मापदण्ड पनि राखिएको छ । छात्रवृत्तिका लागि अन्य मापदण्ड इक्यानले तयार गर्ने इक्यानका अध्यक्ष भट्राईले जनकारी दिए । ​सनवे कलेजले नेपालमा लामो समयदेखि अन्तर्राष्ट्रियस्तरको आइटी शिक्षा प्रदान गर्दै आइरहेको छ ।

छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीले scholarship@ecan.org.np मा गएर आवेदन दिन सक्नेछन् । नोभेम्बर सेसनका लागि आगामी नोभेम्बर ३ तारिखसम्म आवदेन दिनसक्ने छन् भने मार्च सेसनका लागि फेब्रुअरी १८ तारिखसम्म आवेदन दिनसक्ने इक्यानले जनाएको छ । 

  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १८:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया