क्यानडाको क्यालगरीमा गुञ्जियो नेपथ्य [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका विभिन्न शहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थितिबीच क्यानडाको पहिलो नेपथ्य कन्सर्ट भव्यताका साथ सकिएको छ । 

सन् २०२२ मा ‘जीवन्त शहर’ (ग्लोबल लिभेबिलिटी) का लागि विश्वभरमै तेस्रो अनि उत्तरी अमेरिकाकै पहिलो बनेको क्यालगरीमा अघिल्लो दिनबाटै नेपथ्य माहोल अनुभूत गर्न सकिन्थ्यो । स्थानीय टेलिभिजन सिबिसीलगायतका सञ्चारमाध्यममा नेपाली गीत, नेपाली गायक र नेपाली प्रस्तोताका अभिव्यक्ति देखापर्न थालेका थिए ।  

आइतबार बेलुकी सो सुरु हुनु भन्दा अगाडि त्यसैको निरन्तरतामा हल वरपर लामवद्ध दर्शक देखिए । ती दर्शकहरू क्यालगरी मात्र नभइ अल्बर्टा राज्यकै एडमण्टन, लेथब्रिज, मेडिसिन ह्याट, ओकोटोक्स, क्यानमोर र ग्रेटनभ्यालीलगायतका शहर र वस्तीदेखि नेपथ्यलाई अनुभव गर्न जम्मा भएको यहाँस्थित नेपाली समाजका सक्रिय अग्रज ध्रुव राई बताइरहेका थिए ।

निर्धारित समयअनुसार बेलुकीको ठीक ७ बजे प्यालेस थिएटरमा नेपथ्यको पहिलो भेट स्वरूप ‘सा कर्णाली’ म्युजिक भिडियो गुञ्जिन सुरु भयो । दर्शकबाट चर्को स्वागतकै बीच मञ्चमा नेपथ्य टोली देखापरेपछि भने त्यस साँझको पहिलो प्रस्तुति ‘कोशीको पानी यो जिन्दगानी’ सुनाइएको थियो । 



एक दसकअघि पूर्वी नेपालको पैदलयात्रा गर्दा गायक अमृत गुरुङले संखुवासभाको चैनपुरका डिल्ले दमाइबाट यो गीत संकलन गरेका थिए । त्यसपछि कार्यक्रमलाई नेपथ्यकै चर्चित गीतहरू क्रमशः ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘खान्न म त लामपाते सुरती’ले निरन्तरता दिएको थियो ।

कन्सर्ट हेर्न आएका दर्शकहरुको भीडमा परिचित गायिका मीना निरौला पनि थिइन् । छोटो समयमै नेपाली सिनेमा जगतलाई ‘ठमेल बजार’ र ‘काले दाइ’जस्ता गीतहरू दिएकी मीना पछिल्लो समय क्यानडामै बसोबास गर्दै आएकी छिन् ।



‘मलाइ त तीज दसैँजस्ता चाडबाडका बेला माइती नै आएको जस्तो लागिरहेको छ,’ भासिएको स्वरमा मीना भनिरहेकी थिइन्, ‘मञ्चमा बसेर गाउने बानी त छँदै थियो, आज चाहिँ दर्शक दीर्घामा बसेर चिच्याउँदा चिच्याउँदै स्वर नै गयो ।’

गायक अमृतले त्यसपछि पनि ‘चरि मर्‍यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरुले ल्याएको ‘नैनाताल’जस्ता गीतहरू सुनाउँदै गए । ‘तपाईँहरूले विदेशमा कमाएको सीप, पैसा अनि तपाईँहरूको मिहिनेतबाट मातृभूमि नेपाल पनि लाभान्वित हुनुपर्छ,’ सदाझैँ गीतको बीचमा सन्देश समेत दिँदै गायक अमृतले भनेका थिए, ‘नेपालमा सडक आश्रितहरूको आवाजलाई साथ दिने र समाजमा मानवता प्रवर्द्धनको अभिप्रायले गएको वर्षदेखि नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानलाई अघि बढाउँदै आइरहेको छ ।’ 

उनले क्यानडाको यो श्रृंखलावद्ध भ्रमण पनि सो उद्देश्यमा समर्पित समभाव बोकेको मानवसेवा आश्रमको कामप्रति समर्पित रहेको जानकारी दिए ।

नेपथ्यको कन्सर्ट हेर्नका निम्ति अल्बर्टा राज्यभन्दा परदेखि जम्माभएका दर्शकमा २ हजार किलोमिटर लामो यात्रा गरेर उत्तर पश्चिमी राज्यको सहर येलो नाइफदेखि आइपुगेका मानिक दुगड पनि थिए । ‘क्यालगरीको हलमा नेपाली गीत गुञ्जिरहँदा उभिने ठाउँ पनि नभेटिनेगरि टनाटन दर्शक देखेर म त दङ्ग परेँ,’ ३७ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका मानिक भनिरहेका थिए, ‘नेपालीपन भरिएका प्रत्येक गीत कण्ठस्थै भएजसरी गाउँदै रमाएका विभिन्न उमेरका दर्शक देख्दा असाध्यै रमाइलो महसुस गर्न पाएँ ।’ कन्सर्ट हेरेपछि यसका लागि आफूले गरेको लामो यात्रा सार्थक भएको अनुभूति पनि मानिकले सुनाए ।

अर्कोतिर कन्सर्ट हेर्न एडमन्टनदेखि तीनघन्टा सवारी हाँकेर आएका वातावरण योजनाविद अच्यूत अधिकारी पनि थिए । अच्यूतले अलबर्टा राज्यकै उक्त शहरबाट आफूजस्तै यात्रा गरेर करिब दुई सयजना क्यालगरी आइपुगेको उनको अड्कल थियो । ‘कन्सर्ट अवधिभर नेपथ्यको गीतमार्फत् वाल्यकालको यात्रा फेरि गरेको जस्तो अनुभव भइरह्यो,’ अच्यूत भन्दै थिए, ‘दुई घन्टा बितेको पत्तै भएन ।’ यो क्षणको अनुभवका लागि आफूहरूले लामो प्रतीक्षा गरेको जानकारी पनि उनले दिए ।

दर्शकदीर्घामै क्यानडामा पुनर्स्थापित झापाको बेलडाँगी शिबिरमा जन्मे हुर्केका भुटानी शरणार्थी विकास रसाइली पनि उपस्थित थिए । नेपाल रहँदैको प्रिय ब्याण्ड नेपथ्य अनुभव गर्ने हिसाबले मात्र नभइ क्यानाडामै रहेको नेपाली भाषी समुदायसँग पनि नजिकिन यो अवसर सहयोगी हुन पुगेको प्रतिक्रिया विकासले दिए ।

कन्सर्टको अन्त्यतिर भने सदाझैँ सर्वकालीक हिट ‘रेशम’, ‘तालको पानी’ र अन्त्यमा राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाइएको थियो । ‘नेपथ्यलाई यसरी क्यालगरीमा उभ्याउन पाएकोमा असाध्यै भाग्यमानी महसुस गरिरहेका छौँ,’ स्थानीय आयोजक टोलीका जगदीश कँडेलको प्रतिक्रिया थियो, ‘यहाँको नेपाली समुदायबाट नेपथ्यले पाएको माया र सद्भावबाट हामी पनि उत्साहित छौँ ।’

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

क्यालगरीको कन्सर्ट सम्पन्न भएपछि अब ब्यान्डले ४ तारिख अर्थात् बुधबार भ्यानकुभर सहरको ‘दी भोग थिएटर’मा आफूलाई उभ्याउँदैछ । त्यसपछि अन्तिम सो ८ तारिख आइतबारका दिन मुलुककै पूर्ववर्ती व्यापारिक शहर टोरन्टोस्थित क्यानडाकै विख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ । 

  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार ८:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया