logo-img

परिवारसँगको कुराकानीमा ‘खाना खाँदै छु’ भनेका विपीन सम्पर्कविहीन भएपछि जोशी परिवार विक्षिप्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पद्मा जोशी बेलाबेला मुर्छा पर्ने गरेकी छन् । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको छ । 

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपीन जोशी शनिबारदेखि सम्पर्कविहीन छन् । ‘शनिबार १२ बजेतिर भाइसँग सम्पर्क हुँदा खाना खाँदै छु भनेको थियो ।’ विपीनका दाइ किशोर जोशीले भने, ‘शनिबारपछि भाइसँग सम्पर्क हुन सकिरहेको छैन ।’ 

कृषि फार्ममा कार्यरत अन्य साथीहरुसँग सम्पर्क भए पनि विपीनसित भने सम्पर्क हुन सकिरहेको छैन ।  ‘विभिन्न माध्यमबाट प्रयास गर्न खोजे पनि विपीनसित सम्पर्क हुन सकिरहेको छैन,’ जोशीले भने, ‘सरकारले यथाशीघ्र खोजी कार्य गरिदिनुप¥यो ।’ 

विपिनका आमाबुवा दुवै शिक्षण पेसामा छन् । आमा पद्मा जोशी बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा अध्यापनरत छिन् भने बुबा शिक्षणका क्रममा बझाङमा छन् । आमा पद्मा र छोरी पुष्पा मात्रै महेन्द्रनगरस्थित भाषीमा बसोबास गर्दै आएका छन् । 

इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा रहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले इजरायलको छ फार्ममा ४९ विद्यार्थी रहेको जानकारी प्राप्त भएको बताए । 

‘टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी इजरायली राजदूतको समन्वयमा पठाएका थियौँ,’ रजिष्ट्रार पाठकले भने, ‘१७ जनाको समूह रहेको क्षेत्रमा आक्रमण हुँदा दुःखद् खबर सुन्नुपरेको छ ।’ 



इजरायलको किबुज अलुमिममा रहेका १० विद्यार्थीको निधन भएको छ । चार घाइते विद्यार्थी उपचाररत रहेका एक रोजगारदातासँग र अर्का एक विद्यार्थी प्रहरीसँग सुरक्षित छन् । विपीन भने हालसम्म सम्पर्कविहीन रहेको उनले बताए । 

‘सुरक्षित स्थानमा रहेका विद्यार्थीले स्वदेश फर्किन चाहनुभएको छ । यसका लागि सरकारसँग समन्वय गरिराखेका छौँ,’ रजिष्ट्रार पाठकले विश्वविद्यालयले सरकार र दूतावाससँग नियमित सम्पर्क गरिरहेको जानकारी दिँदै भने । 



सुदूरपश्चिम विश्वविद्यालयले गत भदौ अन्तिम साता कृषि संकायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा गरी इजरायल पठाएको थियो । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा ‘सेडट नेगेभ कलेज’सँगको सम्झौताअनुसार    सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका रजिष्ट्रार पाठकले बताए । 

  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार २२:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया