logo-img

लोकेन्द्रबहादुर चन्दको सक्रियताबाट नयाँ पुस्ताले पनि सिक्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
‘अपराजिताले नेपाली साहित्यलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन् । 

पुस्तक लोकार्पण गर्दै उनले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरूको मार्मिक रुपमा चित्रण गरेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले उपन्यासका पात्रहरूको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरूको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गरेको उल्लेख गरिन् । 



तस्बिर : सुशील धामी/फरकधार

त्यस्तै, पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्तरूपमा प्रस्तुत गरेको पनि उनको भनाइ छ । पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसकेको चन्दको यस प्रकारको सक्रियताबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताइन् । 

‘लोकेन्द्रबहादुर चन्दको सरलता र सादापनबाट आजका पुस्ताका राजनीतिक व्यक्तित्वहरूले धेरै कुरा सिक्न सक्नुपर्छ । ८० वर्ष नाघिसकेको उमेरको यस कालखण्डमा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिनु र अपराजिता जस्तो उत्कृष्ट कृति लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरासमेत हो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘यस उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ, समृद्ध बनाउन मद्दत पुर्‍याएको छ । उहाँको यस्तो सक्रियता र लगनशीलताबाट अरू साहित्यकारहरूले समेत प्रेरणा लिनुपर्दछ । प्रस्तुत पुस्तकमा लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरूको मार्मिक चित्रण गर्नुभएको छ ।’ 



लोकार्पण समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा पुस्तकका लेखक लोकेन्द्रबहादुर चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताए । उनले उपन्यासको रूपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको बताए ।  



उपन्यास ‘अपराजिता’ सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो ।   

  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १८:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया