logo-img

नवलपुर र चितवनका थारू समुदायले यमोसा पर्व मनाउँदै
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नवलपुर र चितवनका थारू समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिक रूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् ।  

लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारूले सामूहिकरूपमा नै पर्व मनाउन लागेको थारू कल्याणकारिणीसभापति ललित चौधरीले बताए ।

आदिमकालदेखि यहाँ थारू समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् । कतिपय शैक्षिक संस्थाले यमोसा पर्वकै दिन आन्तरिक परीक्षा कार्यक्रम राखिदिनाले ‘यमोसा’पर्वको पुस्ताक हस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको थारू अगुवा बताउँछन् ।



थारू समुदायले मनाउँदै आएको महत्वपूर्ण चाडपर्वमध्ये ‘यमोसा’पर्व पनि एक भएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकुमार चौधरीले बताए । यमोसा पर्व नवलपुर र चितवनका थारू समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारु समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् । 

दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताए ।

‘यमोसा’ पर्व यहाँका थारूले दुई दिनसम्म धुमधामसँग मनाउँछन् । यमोसाको अघिल्लो दिन अर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको उपप्रमुख चौधरीको भनाइ छ । 



दोस्रो दिनअर्थात् आज औँसीको दिन बिहानै पुरुष आफूले दाभी (सिरु/कांस) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्दछन् । 

पहुनीलाई विभिन्न प्रकारका फूलले शृङ्गार गरिन्छ । पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तुहरू) र पानी राखिन्छ । आजको दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाएर कुशे औँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्दछन् ।  



त्यसपछि आफ्नो क्षमताअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ । छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ । 

छाकी सकिएपछि सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाएर स्वागतका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोई भनिन्छ । पाहुनालाई खुवाएर सकेपछि मात्र आफू​ले खाने गरिन्छ ।   

आजको दिन बेलुकीपख केटाकेटीहरू समूह समूहमा मिलेर घर–घरमा ‘यमोसा’खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । यमोसा खाने क्रममा थारूहरूले विभिन्न मौलिक गीतहरू गाउने गर्दछन् । 

मौलिक थारू लोक गीत, तीम्वार्हा र बरहा, पितरी र पित्पित्रायन, पहुनी र छाकी सबै लोप हुन थालेको छ । पुस्तान्तरण नहुँदा थारूको मौलिक संस्कृतिसँगै गीत सङ्गीतसमेत लोप हुने अवस्थामा पुगेको छ । रासस 

  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १२:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया