हिमाली क्षेत्रमा सधैं उडानको समस्या, टिकट सर्वसाधारणको पहुँच बाहिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधारणलाई हवाई टिकट पाउन सधैं मुस्किल हुने गरेको छ । मौसमको प्रतिकूलता र एयरलाइन्सहरूको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ ।

नेपाल वायुसेवा निगमका उडान अन्त्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले पनि नियमित उडानलाई भन्दा चार्टर्ड उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने गरेको हो । 

नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधारणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई । सामान्य ढंगले आफैं टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुम कि टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहनुभएको छ । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आएकी थिइन् । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहेकी छन् ।  



‘फ्लाइट पनि गारो छ । पाइँदैन । उतै अपरेसन भए पनि ब्लड पाइँदैन । आइसियू छैन । सेवा सुविधा केही पनि छैन । सके पनि नसके पनि यही (नेपालगञ्ज) आउनैपर्ने बाध्यता छ । अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन,’ टीकाले भनिन् ।  

पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका–८ की  निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगञ्ज आइन् । जुम्ल्याहा नानीहरूकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन । एक महिना भइसक्यो नेपालगञ्ज होटलमा बसेको अझै कति दिन बस्नुपर्ने हो भन्ने पिरलो उनीमा पनि देखिन्छ । 



‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । पुर्वी रुकुम देखि पश्चिम पठाइदियो । दुईवटा बच्चा छ नेपालगञ्ज जानुपर्छ भनेका कारणले यहाँसम्म आएको । यहाँ आएपछि । अप्रेशन भयो । ४ दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्याैँ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ,’ बोहराले भनिन् ।  

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका–४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछिन् । कसैलाई भनसुन नगरी हवाई उडानको टिकट पाउन नसकिने अनुभव उनको छ । 

‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राईभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाइँदैन,’ शाहीले भने, ‘सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला ?’  

विदेशी टोली आउँदा दिनमा पाँच वटासम्म चार्टर्ड गर्ने निजी एयरलाइन्सले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरू बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरू हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् ।

नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरी स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ । निगमको जहाजको उडान धेरैजसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने स्थानीयको शंका छ ।

निजी एयरलाइन्सहरूले पनि नियमित उडान स्थगित गरेर चार्टर्ड उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधारण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।

  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १०:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया